काठमाडौं । कांग्रेस र एमालेको सरकार बनेको दश महिना नाघिसकेको छ । दश महिना नाघिसक्दा पनि सरकारले आर्थिक क्षेत्र चलायमान र सुशायन कायम गर्न सकेको छैन । सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि ल्याउन लागेको बजेटको सिलिङ घटाइएको छ । बजेटको सिलिङ घटेपछि अधिकांश सरकारी कार्यालय अन्तर्गतबाट हुने विकास निर्माणका कामहरु अलपत्र पर्ने देखिन्छ ।
सरकारले जारी गर्न लागेको ८२÷८३ को बजेटले सरकारी खर्च र विकास निर्माणको खर्च परिपूर्ति गर्न नसक्ने उच्च स्रोतको दावी रहेको छ । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सरकारले बजेटको सिलिङ घटाएकै कारण आगामी वर्षको विकास निमार्मणको काम ठप्प हुने देखिन्छ । विकास निर्माणको काम मात्रै ठप्प हुने छैन कि कर्मचारीलाई तलब खुवाउनसमेत धौ धौ पर्ने विश्लेशकको आँकलन छ ।
त्यसले गर्दा भौतिक, सिंचाईं, उर्जा, पर्यटन, उद्योगजस्ता क्षेत्रमा विकासको काम अलपत्र पर्ने देखिन्छ । सरकारले छिटोछरितो ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्दा यो अवस्था आइपरेको हो । त्यसैगरी राष्ट्र बैंकको गभर्नर बनाउन ढिलासुस्ती भएकै कारणले अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाव छुट्टै छ । सरकारले राष्ट्र बैंकको गभर्नर समयमा नियुक्ति गर्न नसक्दा सबैतिर निराशा छाइरहेको छ । उपयुक्त मौद्रिक नीति लागु गर्न सक्ने, वित्तिय क्षेत्रलाई सुधार गर्न सक्ने र अर्थतन्त्रलाई चलायमान बनाइ देशलाई ‘ग्रे’ लिस्टबाट निकाल्न सक्ने सक्षम व्यक्ति राष्ट्र बैंकको भावी गनर्भर नियुक्ति गर्नुपर्ने हुन्छ । तर, सत्तारुढ दल एमाले र कांग्रेसबीचको भागबन्डाकै कारण गभर्नर नियुक्तिमा विवाद सिर्जना भइरहेको छ ।
सत्तारुढ दल एमाले र कांग्रेसबीचको विवादकै कारण गभर्नर छनोट समितिमा रहेका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सत्तारुढ दल कांग्रेसले गभर्नरको उम्मेदवार बनाएका राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट दिएको राजीनामा कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले स्वीकृति गरेकी छैनन् ।
तर, अर्थमन्त्री विष्णु पौडेलले अस्ति १४ गते गुणाकर भट्टले दिएको राजीनामा स्वीकृति गर्न कामु गर्भनर ढुंगानालाई निर्देशन दिए तापनि यो समाचार तायार पार्दासम्म उनको राजीनामा स्वीकृत भएको थिएन । उता, गुणाकरण भट्टविरुद्ध शैक्षिक योग्यताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेको छ । अर्कोतिर सत्ताको नेतृत्व गरिरहेको एमालेले गुणाकर भट्टलाई गभर्नरमा स्वीकारेको अवस्था देखिँदैन । त्यसले गर्दा पनि राष्ट्र बैंकको गभर्नर पदमा दुई दलबीच ‘साँढेको जुधाईँ, बाच्छाको मिचाईँ’ भइरहेको छ । तर, सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले उनै गुणाकर भट्टलाई गभर्नर बनाउन दबाब दिइरहेका छन् । देउवाको इच्छाअनुसार हुँदा उनै भट्ट राष्ट्र बैंकको गभर्नर बन्ने अवस्था देखिन्छ ।