नौबिसे–नागढुङ्गा सडक १० दिनको लागि पाँच घण्टा बन्द गर्ने

विविध समाचार

काठमाडौं । नौबिसे–नागढुङ्गा सडक १० दिनको लागि राति पाँच घण्टा बन्द गरिने भएको छ ।

सङ्घीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।

साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्नेछ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने रोकिने छैन ।

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख गरिएको छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *