काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका शारीरिक अशक्त भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाउने भएका छन् ।
राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने शिविरमा शारीरिक अशक्त भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् ।
अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीनवटा केन्द्रमा एक–एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालनका लागि डिभाइसजडित उपकरणसहित जिल्ला प्रशासन कार्यालयको पञ्जीकरण शाखा प्रमुख फनिन्द्र राई नेतृत्वको टोली केपिलासगढी पुगेको थियो । जिल्ला प्रशासन कार्यालयबाट शिविरमा खटिएका टोलीलाई गाउँपालिकाले खाना, खाजा तथा आवश्यक कर्मचारीको व्यवस्था मिलाएको थियो ।
गाउँपालिकाको पहलमा पहिलोपटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि सेवाग्राही हर्षित बनेका छन् ।