वैदेशिक रोजगार विभागमा दाहाल र उप्रेतीको विदेशमा मस्ती

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक अवस्थाकै कारण विकास निर्माणसँगै उद्योगधन्दाहरु पर्याप्त मात्रामा नहुँदा नेपालीहरु विदेसिने लर्को चलिरहेको छ । राजनीतिक दलहरुले त्यसको व्यवस्थापन गर्न सकेका छैनन् । राजनीतिक दलका नेताहरुले त्यसको व्यवस्थापन गर्न नसकेपछि रोजीरोटीको लागि नागरिकहरु विदेसिनुपर्ने वाध्यता भइरहेको छ । विदेसिने नेपालीहरु पनि विदेशमा अलपत्र पर्ने, अकालमै मृत्युवरण गर्ने र विदेशी जेल पर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । राजनीतिक दलका नेता, मन्त्री र कर्मचारीहरु तिनै विदेसिने नेपालीहरुमाथि खेलवाड गर्दै आफ्नो दुनो सोझय्याइरहेका छन् ।

नेपालका अधिकांश मेनपावर कम्पनीहरुले पनि विपन्न, सिधा र निमुखा वर्गहरुलाई ललाइफकाई मोटो रकम असुलेर विदेश पठाउने गरेका छन् । त्योसँगै मेनपवार कम्पनीहरुको नियमक निकाय मेनपावर व्यवसायी महासंघका अध्यक्ष र महासचिवको हालीमुहाली नै चल्ने गरेको छ । अध्यक्ष र महासचिव मिलेर श्रममन्त्री र श्रम विभागका कर्मचारीलाई गुमराहमा पारिरहेका छन् । त्यसको उदाहरण बनेका छन्, अहिले वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल र निर्देशक कविराज उप्रेती । दाहाल र उप्रेतीलाई मेनपावर व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेलले गत हप्ता विदेश घुमाउन लगेका छन् ।

दाहाल र उप्रेतीको खानपिन र लजिङ्गफुडिङ्गको व्यवस्था मेनपावर व्यवसायीका अध्यक्ष भण्डारी र महासचिव भुर्तेलले गरेका छन् भने हवाइ टिकटको व्यवस्था वैदेशिक रोजगार विभागले गरेको छ । वैदेशिक रोजगार विभागमा मेनपावर कम्पनीले धरौटी बापत राखेको २७ करोड रकमको ब्याजबाट विभागका कर्मचारीहरु विदेश घुम्ने गर्दछन् । वैदेशिक रोजगार विभागमा मेनपावर कम्पनीले राखेको धरौटीको समितिले रकम छुट्याउने गर्दछ । त्यो समिति वैदेशिक रोजगार विभागका महानिर्देशकको स्वामित्वमा बन्ने गरेको छ । मेनपावर कम्पनीले धरौटीबापत राखेको २७ करोडको ब्याजमा वैदेशिक रोजगार विभागका कर्मचारीहरुको मोजमस्ती चल्ने गर्दछ ।

त्यस्तै एसओएस मेनपावर प्रा. लि., ब्लुस्काइ मेनपावर कम्पनी र स्काई ओभरसिज जस्ता ठुला मेनपावर कम्पनीहरुले आफ्नो फाइदाको लागि मन्त्री र सचिवलाई महिनावरी नजराना टक्र्याउने र विभिन्न देश भ्रमण गराउने गर्दछन् । यदि उनीहरुले भनेअनुसारको काम मन्त्री र सचिवले गर्न मानेनन् भने उनीहरुकै जागिर र पद धरापमा पारिदिने सम्मको काम गर्न पछिपर्दैनन् । यसरी अधिकांश मेनपावर कम्पनीहरुले कर्मचारी र मन्त्रीहरुलाई विदेश घुमाउने र नजराना दिने कारणले पनि अधिकांश नेपालीहरु ठगिन वाध्य भएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *