काठमाडौं । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालय मातहतमा लगिएपछि मन्त्रालय र विभागबीचको समन्वय हुन सकेको छैन । मन्त्रालय र विभागको समन्वय नहुँदा राजश्व छलेर व्यापारीहरुले सामान भित्र्याइरहेका छन् । यस विषयमा तामाकोशी प्रतिधिनिले विभागका महानिर्देशक तीर्थ चिलवाललाई मोबाइल नम्बर ९८५११८०५२० मा फोन गरी ‘व्यापारीहरुले राजश्व छली गरेर सामान भित्र्याइरहेका छन्, तपाईँ महानिर्देशक भएयता राजश्व कति उठाउनुभयो ?
३७ अर्ब पनि राजश्व उठाउन नसकेको आरोप छ, यसमा के भन्नुहुन्छ ?’ भन्दा महानिर्देशक चिलवाल “राजश्व उठाउने भन्सार विभाग र आन्तरिक राजश्व कार्यालयले हो, हामीले त चोरी तस्करी गरेर ल्याएका सामानको गाडी पक्राउ गरी कारबाही गर्ने हो’ भन्ने जवाफ पाइयो । उनले, बरु कहाँ कहाँबाट राजश्व चुहावट भएको छ, कहाँ कहाँ राजश्व छली भएको छ सूचना पाऊँ न’ भनेर पन्छिने काम गरे । त्यसको अर्थ हो अर्थमन्त्रालय र राजश्व अनुसन्धान विभागको समन्वय भएको पाइँदैन । अर्थमन्त्रालयले राजश्व उठाउन पहल गरे तापनि कर्मचारीबीचको समन्वय नहुँदा सरकारले राजश्व उठाउन सकेको छैन ।
भन्सार र कर कार्यालयले पनि सरकारको योजना अनुसार राजश्व उठाउन सकेको छैन । भन्सार र कर कार्यालयका कर्मचारीहरु पनि व्यापारीहरुका लेखनदास बन्ने गरेका छन् । किन कि व्यापारीहरुले राजश्व छली गरेर ल्याएका सामान भित्र्याउन राजश्व र भन्सारका कर्मचारीले नै सघाउने काम गर्दै आएका छन् । कर्मचारीका छोराछोरीहरुलाई ल्यापटप, मोबाइल, महंगा घडी, टेलिभिजन, फ्रिजजस्ता महत्वपूर्ण सामान व्यापारीहरुले उपहार दिने गर्दै आएका छन् ।
त्यस्ता व्यापारीहरुले कर्मचारीका छोराछोरीलाई सामान उपहार दिन्छन् भने कर्मचारीहरुलाई कमिसन दिने गर्दछन् । त्यसले गर्दा पनि सरकारले भनेजस्तो राजश्व उठ्न सकेको छैन । राजश्व छुट गराउनको लागि पनि व्यापारीहरु त्यत्तिकै लागिपर्ने गर्दछन् । तर, राजश्व अनुसन्धान विभाग भने तीनै चोरी तस्करी गर्ने व्यापारीको गाडी पक्राउ गरेर दाम झार्ने काम गर्दै आएका छन् । यसरी पक्राउ गर्दा ठूला व्यापारीहरुलाई उम्काउने र सानालाई जरिवना गरेर तर्साउने काम गर्दै आएका छन् । राजश्व अनुसन्धान विभागले ठूला–ठुला इन्स्टिच्युट, कलेज, म्यानपावर कम्पनी र विदेशी कम्पनीहरुले राजश्व छली गर्दा पनि तिनीहरुलाई कुनै कारबाही गर्न सकेको छैन । उल्टै राजश्वमा बस्ने कर्मचारीहरु ठाउँ फेरिफेरि तर मार्ने गर्दछन् ।
त्यसरी ठाउँ फर्ने कर्मचारीहरु कहिले पथलैया राजश्व कार्यालय, कहिले वीरगञ्ज, कहिले भैरहवा त काठमाडौंको राजश्व अनुसन्धान विभागमा बसेर कमाउधन्दा चलाइरहेका हुन्छन् । त्यसको उदाहरण लिन सकिन्छ राजश्व अनुसन्धान विभागका राजन बिसीलाई । बिसी विभिन्न राजश्व कार्यालयमा बसेर राजश्व अनुसन्धान विभाग आइपुगेका कर्मचारी हुन् ।
राजश्वका कर्मचारीहरु व्यापारीहरुको लेखनदास बन्ने गरेका छन् । व्यापारीहरुले पनि पोलिसीमा लेखेलेर सरकारलाई धरासायी पार्ने काम गर्दै आएका छन् । सरकार फेरबदल हुनासाथ उद्योग वाणिज्य महासंघका पदाधिकारी र उद्योगी, व्यापारीहरु लगानीमैत्री वातावरण बनाउनको लागि अर्थमन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने एवं सरकारको मनस्थिति हेरेर पोलिसीमा खेल्ने काम गर्दै आएका छन् । तर, राज्यका सम्बन्धित निकायले यस्ता व्यापारीहरुको निगरानी गरी कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।
