काठमाडौं । पोर्चुगल सरकारले १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ ।
अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई आम चुनावको ठीकअघि पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो ।
पोर्चुगलमा १८ ‘मे’ मा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ । चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिन सूचना जारी गर्ने बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।
यो कारबाही आगामी हप्तादेखि शुरु गर्ने सरकारको तयारी रहेको छ । सुरुवातमा चार हजार पाँच सय जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ । त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ । त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ ।