काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनमा कुराकानी भएको छ ।
चीनको विदेश मन्त्रालयले दुई जना बीचको कुराकानीको जानकारीमा एक विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा डोभालले पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीय सैनिकहरूलाई गम्भीर क्षति पुर्याएको, जसले गर्दा भारतले कडा आतंकवाद विरोधी उपायहरू अपनाउन बाध्य भएको बताएका थिए ।
युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नरहेको उनले बताएको चीनले उल्लेख गरेको छ । सो अवसरमा वाङ यीले चीनको तर्फबाट पहलगाम आक्रमणको निन्दा गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने बताएका थिए । उनले आजको विश्वको अवस्था धेरै कठिन रहेको र एसियामा शान्ति कायम राख्नु धेरै महत्त्वपूर्ण भएको बताएको उल्लेख छ ।
वाङ यीले भारत र पाकिस्तान अविभाज्य छिमेकी भएको र दुबै चीनका छिमेकी पनि भएकाले चीनले युद्ध नचाहेको भारतको अडानलाई कदर गर्ने बताएको उल्लेख गरिएको छ ।