काठमाडौं । कतारमा गैरकानूनी रुपमा बस्ने आप्रवासी श्रमिकलाई तीन महिनाभित्र स्वदेश फर्कने गरी आममाफी दिने भएको छ ।
कतारको आन्तरिक मन्त्रालयद्वारा जारी सूचनामा आवासीय परिचयपत्र नबनेका, म्याद नाघेका वा नवीकरण नभएका श्रमिक स्वदेश फर्कन पाउने भएकोले सरकारलाई जरिवाना तिर्नु वा घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर)मा बस्न नपर्ने समेत उल्लेख गरिएको छ । बिना सजाय स्वदेश फर्कन पाउने यो व्यवस्था आइतबार (२७ माघ) देखि नै लागू भएको हो ।
स्वदेश फर्कनका लागि श्रमिकले साल्वा रोडस्थित सर्च एन्ड फलोअप डिपार्टमेन्ट वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सम्पर्क गर्न सक्नेछन् । श्रमिकले अर्को रोजगारदाताको स्वीकृतिमा परिचयपत्र बनाएर बस्न पाउने वा नपाउनेबारे भने प्रस्ट खुलाइएको छैन । यसअघि घोषणा गरिएको आममाफीमा श्रमिकलाई स्वदेश फिर्ने वा वैधानिक हैसियत भएर कतारमै बस्न पाइने विकल्प दिइएको थियो ।
आममाफी पाउने आफ्नो मुलुकका श्रमिकका लागि नेपाली दूतावासले सहजीकरण गर्ने भएको छ । कतारमा आवासीय कानून उल्लंघन गरेर बस्ने नेपाली श्रमिकको यकिन तथ्यांक भने नभएको नेपाली दूतावासले जनाएको छ ।