कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको कृषि उपज निकासी

कर्णाली प्रदेश देश/विदेश समाचार

काठमाडौं । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । विशेषगरी कर्णालीबाट खाद्यान्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ । यी बस्तु नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौं, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

कर्णालीमा बर्सेनि करिब दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको छ । यसैगरी, पशुपन्छीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपन्छी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपन्छी निर्देशनालयले जनाएको छ ।

वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्यांक रहेको छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडा लगायतका पशुजन्य उपज निकासी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *