काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकारबाट खानेपानीमन्त्री बनेका प्रदीप यादवले ६ महिना पार गर्दा पनि ठोस योजना ल्याएर काम गर्न सकेका छैनन् । उता काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका सिईओ अशोक कुमार पौडेलले केयुकेएललाई बन्धक जस्तै बनाएर राखेका छन् । केयुकेएलले विभिन्न शाखा कार्यालयहरुलाई दिनुपर्ने बजेट गत साउनदेखि दिएको छैन । बजेटकै अभावका कारण अधिकांश शाखा कार्यालयका कामहरु लथालिङ्ग अवस्थामा पुगेका छन् ।
कतिपय शाखा कार्यालयहरुले त खानेपानीको पाइप मर्मत र नयाँ पाइप विछ्याउने काम नगर्दा अधिकांश सडकहरुमा पानी खेर गइराखेको छ । एकातिर पानी खेर गइरहेको छ भने अर्कोतिर उपभोक्ताले समयमा पानी पाएका छैनन् । यस विषयमा तामाकोशी सन्देशले पटक–पटक समाचार सम्प्रेषण गर्दा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन । केयुकेएलको केन्द्रीय कार्यालयदेखि अधिकांश शाखा कार्यालयका कर्मचारीहरु काम नपाएर घाम तापेर दिन बिताउने गरेका छन् ।
ती कर्मचारीहरुले गत साउनेदेखि नै बिनाकाम हाजिर गर्ने तलब खाने बाहेक अन्य काम नगरेको समाचार स्रोतको दावी छ । उता, केयुकेएलका सिईओ अशोक पौडेलविरुद्ध आन्दोलन गर्न कर्मचारी छलफलमा जुटेका छन् । त्यसैगरी उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणा र केयुकेएलका सिईओ अशोक कुमार पौडेलबीच समन्वयकारी भूमिका नहुँदा पनि केयुकेएल धरासायी बन्न पुगेको बताइन्छ । सञ्जिव राणाले दुई कार्यकाल पनि बिताउन लागिसकेका छन् । राणाको खानेपानी व्यवस्था बोर्डको जागिरे अवधि आगामी असारभित्र सकिँदैछ ।
कार्यकारी निर्देशक राणा डा. आरजु देउवा राणाको आशिर्वादबाट खानेपानी व्यवस्था बोर्डको कार्यकारी निर्देशक बनेका थिए । खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राणा र केयुकेएलका सिईओ अशोक पौडेलको टसलले गर्दा उपत्यका खानेपानी लिमिटेड केयुकेएल धरासायी बन्दै गएको छ । सिईओ पौडेल नेपाल राष्ट्र बैंकमा रहँदा पनि विवादित छविका कर्मचारी हुन् । खानेपानी सम्बन्धी ज्ञान नै नभएका पौडेललाई राष्ट्र बैंकको जागि छुटाएर नेकपा एमालेले केयुकेएलको सिईओ बनाएको थियो । मन्त्री र सिआई फरक पार्टीका भएकाले पनि केयुकेएलको काम हुन नसकेको बताइन्छ ।