कांग्रेसद्वारा गभर्नरमा पौडेलको नाम अगाडी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई अगाडी सारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको भएपनि भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको बुझिएको छ । दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी अनुसार देउवाले पौडेलको नाम अगाडी सारेका हुन् ।

पौडेल गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य समेत हुन् । शनिबारको बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेताहरु सहभागी थिए ।

यो नयाँ विकसित घटनाक्रमपछि गभर्नर नियुक्ति प्रक्रिया अझै कम्तिमा एक साता लाग्ने देखिएको छ । पौडेलको नाममा सहमति भए उनले सर्वप्रथम सिफारिस समितिबाट राजीनामा दिने र त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य राख्न नियुक्ति गर्नुपर्छ । पौडेलको राजीनामा स्वीकृत गर्न र उनको स्थानमा अर्को सदस्य राख्न मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने पर्छ । त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ ।

गभर्नर सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा हुने गर्छ, जसमा एक विज्ञ सदस्य र एक पूर्वगभर्नर राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पौडेल विज्ञ सदस्यको रुपमा समितिमा छन् । त्यस्तै पूर्वगभर्नरबाट सदस्य नियुक्त भएका विजयनाथ भट्टराईले लामो समयसम्म बैठकनै बस्न नसकेको भन्दै असन्तुष्टि जनाएर राजीनामा दिएपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *