काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता शुरु गर्न चाहेको बताएका छन् ।
उनले यो कुराकानी मे १५ बाट सुरु हुने बताएका छन् । शनिबार अबेर राति टेलिभिजन सम्बोधनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने ‘हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं ।’
शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गरेपछि उनको भनाइ आएको हो । यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए । रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने बताउदै दबाब नदिन चेतावनी दिएका थिए ।
पुटिनले टर्कीको इस्तानबुल शहरमा गर्न चाहेको यी वार्ताहरूले नयाँ युद्धविराम वा सम्झौतामा पुर्याउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताए ।
उनले आइतबार यस विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग विस्तृत रूपमा कुरा गर्ने बताए । युक्रेनले अहिलेसम्म यो वार्ताको निमन्त्रणाको जवाफ दिएको छैन ।