रविलालको उही हाल

राजनीति समाचार

गत २८ पुसमा संघीय मामिला तथा सामान्य सचिव बनेर गएका थिए रविलाल पन्थ । निर्वाचन आयोगबाट गृहमा पुगेका पन्थका निर्देशन र निर्णयहरु पनि नयाँ जोगी बढी खरानी हुन पुगेको छ । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवाका कारण बदनामी छ । सरुवाको दररेटै तोकेर कर्मचारीहरु खटन पटन हुने,मनलाग्दी ढङ्गले कर्मचारीहरु चलाइन थालेपछि पन्थले कर्मचारी सरुवालाई व्यवस्थित,प्रभावकारी बनाउने उदेश्यले महिनामा दुई दिन अर्थात हरेक महिनाको पहिलो साता र पन्ध्र गतेभित्र कर्मचारी सरुवा गर्न थालेका थिए । सोही अनुसार मन्त्रालयले फागुन १ गते ५० उपसचिव र शाखा अधिकृतको सरुवा गरेको हो ।

मन्त्रीका सचिवालय,कर्मचारी प्रशासन हेर्नेदेखि कर्मचारी ट्रेड युनियनकर्मीहरुको मोलमोलाईमा हरेक दिन अपारदर्शी र मनलाग्दी ढंगबाट कर्मचारी सरुवा हुँदा मन्त्रालय नै बदनाम हुन पुगेको स्थिति थियो । यसैलाई चिर्नका लागि सचिव पन्थले साताको दुई पटकमात्र कर्मचारी सरुवा गर्ने नीति लिएका थिए तर सचिवभन्दा कर्मचारी ट्रेड युनियनवाला र मन्त्रीको सचिवालय बलियो भएको मुलुकमा एक्ला रविलालको केही जोड चलेन । फेरि सामान्य प्रशासनबाट मनलाग्दी सरुवा हुन थालेको छ । त्यहाँका मन्त्री,कप्र हेर्ने कर्मचारीहरुदेखि कर्मचारी ट्रेड युनियनको प्रभावमा सो निर्णय पानीको फोका बन्न पुगेको छ । पन्थले सरुवा हुन चाहने कर्मचारीले मन्त्रालयमा निवेदन दिनुपर्ने र प्राप्त निवेदनलाई सङ्कलन गर्ने र महिनाको दुई पटक मात्र सरुवाको नीति लिएको भए पनि मन्त्रालयले मोलमोलाइका आधारमा फेरि सरुवा गर्न थालेको छ ।

जस्तो सोमबारमात्र सामान्यले दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना उपसचिव चलायो । मन्त्रालयले सहसचिवका दरबन्दी रहेको इटहरी र नेपालगञ्ज उपमहानगरपालिकामा नियम विपरित उपसचिवलाई खटाएको छ । विभिन्न मन्त्रीका सचिवालयमा घुमेर अघाएका रामहरि शर्मालाई नेपालगन्ज उपमहानगरपालिका र मीन भट्टराईलाई इटहरी उपमहानगरपालिकामा गुपचुप खटाएको छ । यो खटन पटनमा सातदेखि दश लाखको खेलो मेलो रहेको बताउँछन् मन्त्रालयका कर्मचारीहरु । स्मरणीय छ,यस अघि मन्त्री राजकुमार गुप्ताकै सचिवालयबाट प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्नका लागि पाँच देखि सात लाख मागिएको ह्वासअप च्याट सार्वजनिक भएको थियो । ती स्वकीयलाई मन्त्रीले अझैं हटाउन सकेका छैनन्,उठ्तीपुठ्ती गरेर बुझाउने भएकै कारण उनलाई सचिवालयमै राखिएको कर्मचारीहरु बताउँछन् ।

गृहमा उस्तै गडबडी
भूमि व्यवस्था मन्त्रालय हुँदै गृहमा पुगेका गोकर्णमणि दुवाडीको शासनमा झनै भद्रगोल देखिएको छ । एकातिर मापदण्ड विपरित कर्मचारीहरु सरुवा भइरहेको छ भने सो मन्त्रालयबाट यस अघिका मन्त्री र सचिवहुँदा सरुवाको सूची सार्वजनिक हुँदै आएकोमा गोर्कण गृहमा पुगेपछि कर्मचारी सरुवाको सूची गुपचुप राख्न थालिएको छ । मन्त्रालयले पछिल्लो समय किस्ताबस्तीमा सहसचिवदेखि उपसचिवहरुको खटन पटन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *