रुख भनेकै काट्नकोलागि हो । तर दिगो व्यवस्थापन जरुरी छ । रुख भनेको नविकरणीय स्रोत पनि हो । पछिल्लो अवधीमा वन सौन्दर्यको साधान जस्तो मात्र देखिएको छ । यसबाट पर्यटकहरुले एक्कैक्षण रमाइलो मान्लान् तर यसबाट मुलुक र मुलुकवासी मात्रै होइन वनका नजिकै रहेकाले पनि फाइदा लिन सकेको छैनन् । यस परिवेशमा चरिकोट बजारसँगै जोडिएको खोरथली सामुदायिक वन क्षेत्र पनि देख्दा आकर्षक छ तर यसबाट समुदाय, मुलुकले के पायो प्रश्न सधैं आउने गर्दछ । सामुदायिक वनले अनेकानेक कोसिश गर्दा पनि वनबाट खासै उपलव्धी लिन सकिरहेको पाइन्न । केही वर्ष अगाडी केही रुखहरु निकालेर विक्रि गरेको अनुभव थियो । अहिले दिगो वन व्यवस्थापनको कार्य गरेको चर्चा थियो । त्यो अभ्यासलाई नजिकबाट नियाल्ने मौका मिल्यो ।
अबलोकनको मौका
एकाविहानैं दोलखाका डिभिजनल वन अधिकृत कृष्णराज न्यौपानेले फोन गर्नु भयो । उहाँले तयार गरेको एक श्रव्यदृश्य सामाग्री हेर्नकालागि । सातदोवाटो चोक तिर भेट्ने सल्लाह भयो । फेकोफन दोलखाका अध्यक्ष जगन्नाथ वस्नेत, पूर्व अध्यक्ष हरिहर न्यौपाने, वन अधिकृत चिरन्जीवी थापामगर, डिभिजनल वन अधिकृत न्यौपाने गफिदैं कफि पिउँन थाल्यौं । हरिहर न्यौपानेले खोरथलीमा कता के गरेको भनी प्रश्न गर्नु भयो । डिभिजनल वन अधिकृतले यहाँ कहाँ थाहा हुन्छ हेर्न जानु पर्दछ भन्नु भयो । लौ जाउँ भन्ने कुरा भयो । उहाँले कार्यालयको गाडी मगाउनु भयो । अनी हामी लाग्यौं खोरथली सामुदायिक वन तिर । भीमेश्वरका खोरथली र थाङ्सा देउरालीमा विशेष काम भैरहेको रहेछ । त्यसको स्थलगत भ्रमण र अन्तरक्रिया गर्ने मौका मिल्यो । मेरो धेरै पहिला देखिको रहर पूरा भयो । त्यस खोरथलीका सचिव श्याम गौतमले सामुदायिक वनले विशेष काम गर्दा मलाई पनि बोलाउनु हुन्थ्यो तर मौका मिलिरहेको थिएन ।
खोरथलीको अवस्थीति
दोलखाको सदरमुकाम चरिकोट वजार देखि उत्तर तर्फ रमाइलो डाँडा छ । त्यहाँ घना जङ्गल वजारबाटै देखिन्छ । मनमोहक छ । मन लोभ्याउने छ । कुनै बेला यो स्थान उजाड भैसकेको थियो । चरिकोट वजारबाटै त्यो स्थानमा वाँदर उफ्रेको तथा खरायो दौडेको देख्न सकिन्थ्यो । ५० वर्ष अघिको त्यो पाखो देखेका तर भरखर आएका कोही भए त्यो स्थान होइन भनेर पक्कै पनि जिद्दी गर्ने अवस्था देखिन्छ । वाहिरबाट हेर्दा मनमोहक छ । भित्र पस्दा घना झाडी भैसकेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ३ र ६ का करिव ८ सय उपभोक्ताले १७८ हेक्टर वन क्षेत्र सामुदायिक वनको रुपमा व्यवस्थापन गरिरहेका छन् ।
खोरथलीको ईतिहासलाई हेर्दा बि. सं. २०३० आसपास पुग्न जरुरी हुन्छ । तत्कालिन राजा भ्रमणको सिलसिलामा चरिकोट आएका थिए । सदरमुकामसंग जोडिएको वन उजाड देखेपछि ५ बर्ष भित्रमा यो जंगल हराभरा हुनुपर्छ भनेर उर्दी जारी गरेछन् । स्वीस सरकारबाट संचालित क्ष्ज्म्ए भन्ने आयोजना क्रियाशिल थियो । त्यो आयोजना र वन कार्यालय दोलखाको संयुक्त लगानीमा बि. सं. २०३५/२०३६ सालमा पहिलो चरणमा स्थानीय प्रजातीको बिरुवा रोपन गरियो । तर सफल हुन सकेन । त्यसपछि स्वीस सरकारको पहलमा पाटे र गोबे्र जातका सल्लाको बृक्षारोपण गरियो । वृक्षारोपण गर्न नैं ७ बर्ष लागेको थियो ।
वन कार्यालय दोलखाले सरकारी तवरबाट संरक्षण गर्दै आएको वन २०४७ असार २७ गते नारायण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय संरक्षण समिति गठन भए पश्चात संरक्षणमा समुदायले भूमिका खेल्न थाल्यो । २०४९ सालमा सामुदायीक वनको रुपमा हस्तान्तरण गर्ने सन्दर्भमा पुनः नारायण बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भयो । २०५२ भाद्र ११ मा समूहको बिधान र कार्ययोजना सहित संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्ने गरि बिधिवत रुपमा सामुदायीक वन हस्तान्तरण भएको हो ।
रुख काट्दै खोरथली
लामो समयसम्म वनको संरक्षण गरि सफलता पाएको तर सामान्य दाउरा घाँस भन्दा वाहेक फाइदा लिन नसकेको अवस्था थियो । वन भने घना थियो । २०७४÷०७५ मा दिगो तथा बैज्ञानिक वन ब्यबस्थापन कार्यक्रम लागु भए पश्चात यस सा. व. मा २ हेक्टरमा बैज्ञानिक वन ब्यबस्थापन कार्यक्रम अन्तर्गत रुखहरु कटानी गरिएको थियो । उपभोक्तालाई छुट्याएर लिलाम बिक्री गर्ने सन्दर्भमा लिलाम बिक्री भएको लगभग २८ लाख बराबरको काठ ३ बर्ष लगाएर निकासी गरिएको थियो ।
यस वन भित्र अग्नी नियन्त्रण तथा काठ दाउरा निकाल्न सहजताको लागि लगभग १३ किलोमिटर अग्नीरेखा तथा वन पथमार्गहरु (मोटरेवल बाटो) निर्माण भएको रहेछ । हामी त्यही बाटो पछ्याउँदै वन पस्यौंं ।
अहिले वागमती प्रदेश सरकारले दिगो वन व्यवस्थापनको कार्यविधि पारित गरेकोले सो को अभ्यास यस सामुदायिक वनमा भएको रहेछ । २ वटा व्लकमा प्रति हेक्टर १५ वटा जती माउ रुख छाडेर सल्लाको रुख काटिएको रहेछ । तोकिएको एक व्लकमा ४० सेमी गोलाइ भन्दा ठुला रुख काटिएको छ । यो वनमा ६० बर्षे रोटेशन गरी काट्ने योजना छ । तोकिएको व्लकमा वाहेक अरु क्षेत्रमा रहेको ढलपडा र सुकेका रुख निकालिने गरिन्छ । माउ रुखका रुपमा राखिएका हरेकको जिपिएस कोड सहित मानिसको छातीको उचाईमा सेतो रङ लगाइएको छ । साथै टिनको पातामा रुखको रोल नंं जस्तो संकेत पनि राखिएको छ । यी स्थानबाट यस बर्ष रुख निकाल्दा ४० हजार क्यूविक फिट काठ निस्कँदै छ । यसको घाटगद्दीको काम चलिरहेको छ । अब विक्रि प्रकृया अपनाइदैछ । रुख ढाले पछि वजारमा विक्रि हुने साइजका गिंडहरु तयार गरिन्छ । हाँगाहरु उपभोक्ताहरुले खरिद गरि लैजाने गर्दछन् । एक ट्याक्टरको रु ३ हजार उपभोक्ताहरुले संकलन गरी लैजाने गर्दछन् । जुन व्लकमा रुख काटिएको छ । त्यहाँ सफा छ झाडी देखिँदैन तर पुनरउत्पादनको अवस्था राम्रो देखिन्छ । सल्लाका विरुवाहरु नर्सरी जस्तै गरी आइरहेको छ ।
रुख काटिएको क्षेत्रमा अन्तरक्रिया गर्दै हामी अर्को छिमेकी वन थाङ्सा देउराली सामुदायिक वन तिर लाग्यौं । त्यहाँ भरखरै अग्नी रेखा खनी रहेको रहेछ । कम्तीमा ४ मिटर चौडाई भएको अग्नी नियन्त्रकालागि रेखा खनिएकोले गाडी सजिलै जान्थ्यो । कालिञ्चोक जाने सडकबाट १ हजार २ सय मिटर गाडीमा यात्रा गरे पछि आगोले सखाप पारेको वन क्षेत्रमा पुग्यौं । वन डढेलो यसपाला लागेको थिएन तर रुखहरु सुकेको देखिन्थ्यो । सुकेका रुखहरु हटाउने कार्य भैरहेको थियो । यसकालागि कार्ययोजना परिमार्जनको काम भैसकेको थियो । यसरी निकालेको काठ ७ हजार क्यूविक फिट हुने अनुमान गरिएको छ । मूख्य सडकको छेउँमा घाटगद्दी गरेको देखिन्छ । कालिञ्चोक मन्दिर ओहोरदोहोर गर्ने यात्रुहरुले वन सखाप पारेछन् भने जस्तो दृश्य देखिन्छ तर यस वनमा यसता काठहरु अझ धेरै निकाल्न सकिने देखिन्छ । त्यसो गर्दा मात्रै दिगो वन व्यवस्थापन हुने छ । अर्को कुरा भनेको रुख भनेकै काट्नकालागि हो । सदुपयोग गर्नका लागि हो ।
वन जोगाउन सफलता हाता लाग्यो तर सदुपयोगमा कमजोर देखिएको छ । त्यसैले रुख काट्नु, काठ निकाल्नु बेच्नु पैसा कमाउनु अनी वन संरक्षण गर्दै उपभोक्ताको सशक्तिकरणमा काम गर्नु पर्दछ । त्यसमा पनि उद्यम विकास र उपभोक्ताको सशक्तिकरणमा ध्यान गएकै छैन । काठको गिंड नैं वेच्नु भन्दा त्यसको फर्निचर वा अरु त्यस्तो केही गरेमा रोजगारी सिर्जना हुने अनी मूल्य पनि अभिवृद्धि हुनसक्छ । चरिकोटमा प्रयोग हुने फर्निचरहरु यहिका उत्पादन गर्न प्रोत्साहन गर्न जरुरी छ । गुणस्तरीय फर्निचर वनाउन व्यवसायीलाई थप परिस्कृत गर्न पनि आवश्यक छ । रुख काटे पछि उपभोक्ताले प्रयोग गरेर वाँकी रहेको बेचिन्छ । त्यसबाट आम्दानी राम्रै होला । त्यो पैसाको वन विकास, उद्यम विकास, विपन्न सशक्तिकरणकालागि खर्च गर्न पर्दछ । त्यसको प्रष्ट खाका आवश्यक पर्दछ । ईच्छा सहितको कार्यान्वयन गर्नु पर्दछ । तबमात्र भन्न सकिएला, रुख काटौं वन विकास गरौं । दोलखाको खोरथली सामुदायिक वनले यो अभ्यास थालेको छ । यस अभियानमा दोलखाका सामुदायिक वनहरुले नेतृत्व गरोस् शुभकामना ।