काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एक प्रक्षेपण असफल भएको छ ।
आइतबार बिहान भारतको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीएसएलभी–सी ६१) मार्फत आफ्नो १०१औं उपग्रह इओएस–०९ (पृथ्वी वेधशाला उपग्रह) प्रक्षेपण गरेको थियो, तर यो प्रक्षेपण सफल हुन भने सकेन ।
पहिलो र दोस्रो चरणमा सफल भएपछि, तेस्रो चरणमा इओएस–०९ मा गल्ती पत्ता लागेको इसरोले जानकारी दिएको छ । यो पीएसएलभीको ६३औं उडान थियो र पीएसएलभी–एक्सएल कन्फिगरेसन प्रयोग गरेर २७औं उडान थियो ।
इओएस–०९ को उचाइ ४४.५ मिटर छ । तौल ३२१ टन रहेको थियो । यो ४ चरणमा निर्माण गरिएको थियो । मिसन इओएस–०९ उपग्रहलाई सूर्य सिंक्रोनस ध्रुवीय कक्षमा राख्ने लक्ष्य थियो ।
इओएस–०९ रिमोट सेन्सिङ डेटा प्रदान गर्न डिजाइन गरिएको बताइएको छ । इओएस–०९ विशेष गरी घुसपैठ वा शंकास्पद गतिविधिहरू पत्ता लगाउन डिजाइन गरिएको हो । पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूर पछि आतंकवाद विरोधी अपरेशनका लागि यसलाई महत्त्वपूर्ण मानिएको थियो ।