काठमाडौं । बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभावले गर्दा बिरामीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन्। यसबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म उपलब्ध हुन नसकेको जिल्ला अस्पताल बैतडीले जनाएको हो ।
कुनै जनावरले टोकेमा एक जनाले तीन मात्रा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर खोपको अभावमा त्यस्ता व्यक्तिलाई फर्काउनुपरेको छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जङ्गली जनावरले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।
रेबिजको कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्छ । यसबाट अरु मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुनसक्छ ।
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउनेजस्ता समस्या पनि देखिन्छ ।