गठबन्धन सरकारको भविष्य अन्योलमा, प्रधानमन्त्री ओलीप्रति छिमेकी राष्ट्र किन असन्तुष्ट ?

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सम्हालेको एघार महिना पुगिसक्दा पनि छिमेकी मुलुक भारतले भारत भ्रमणमा बोलाएको छैन । प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अन्य देशमा अनौपचारिक भेटघाट भए तापनि आफ्नै देश भारतमा बोलाएर औपचारिक भेट दिन उचित ठानेका छैनन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिँदा पनि मोदी नेपाल भ्रमणमा आएका छैनन् ।

नेपालले जलवायु संकट समाधानको लागि आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रममा एक सय असीभन्दा बढी देशसँग कुटनीतिक सम्बन्ध गाँसे तापनि परराष्ट्र मन्त्रालयकै कारण अधिकांश देशका प्रतिनिधिहरु सहभागी भएको पाइएन । सो कार्यक्रममा छिमेकी मुलुक भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई उपस्थित गराउने भनिएको थियो । तर, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री सहभागी भएनन् । सो संवाद कार्यक्रममा भारतबाट वनमन्त्रीलाई पठाइएको थियो । छिमेकी मुलुक भारत र चीनका राष्ट्र प्रमुखहरु सहभागी नभएपछि अन्य मुलुकका प्रतिनिधिहरु सहभागी भएका थिए । सो सगरमाथा संवाद कार्यक्रममा जलवायु संकट समाधानको बारेमा विभिन्न देशबाट आएका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

तर, छिमेकी मुलुक भारत र चीनले नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमलाई त्यति चासो देखाएको पाइएन । भारतले नेपाललाई हेर्ने दृष्टिकोण पनि यतिबेला आएर फरक देखाएको छ । त्यसले गर्दा राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । अर्कोतर्फ विभिन्न संवैधानिक निकायमा नियुक्तिमा भागवण्डा नमिल्दा कांग्रेस र एमालेभित्रै मनमुटाव सुरु भएको छ । कांग्रेस र एमालेबीचको मनमुटावले गर्दा प्रधानमन्त्री ओलीलाई काम गर्न समस्या परिरहेको छ । कांग्रेसका इतरपक्ष नेताहरुले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने धारणा राख्न थालेका छन् ।

उता, कांग्रेस नेता, एवं पूर्व स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग आयोगले टेरामक्स काण्डमा भ्रष्टाचारको मुद्दा लगाएपछि कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेको छ । त्यसले गर्दा पनि प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा परेका छन् । त्योसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि पछिल्लो पटक प्रधानमन्त्री ओलीप्रति नकारात्मक बन्दै गएका छन् । त्यसले गर्दा पनि कांग्रेस र एमालेको सत्तासहकार्य जतिबेला पनि टुट्न सक्ने चर्चा राजनीतिकवृत्तमा चल्न थालेको छ । छिमेकी राष्ट्र प्रमुखहरु पनि ओलीप्रति सन्तुष्ट देखिएका छैनन् । यी र यस्तै कारणले गर्दा ओली सरकार धर्मराउन थालेको विश्लेषकहरुको आँकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *