सिईओ उर्मिला श्रेष्ठ र झाको चङ्गुलमा साल्ट ट्रेडिङ डुब्दै

English Featured राजनीति समाचार

काठमाडौं । सरकारीदेखि विभिन्न संघसंस्थाहरुमा हुने गरेका अनियमितता र भ्रष्ट्राचारले गर्दा देश दिनप्रतिदिन खोक्रो बन्दै गएको छ । त्योसँगै सरकार पटक–पटक फेरिने कारणले देशमा आर्थिक समृद्धि हुनुको सट्टा उल्टै बेरुजुको चाङ बढ्दै गएको छ । तीन तहको सरकार सञ्चालनमा रहे तापनि तिनै तहको सरकारमा भ्रष्टाचार, विकृति, विसंगति र अनियमितता फस्टाउँदै गएको कारण देशमा बेरुजुको चाङ बढ्दै गएको हो । बेरुजुको लागि महालेखा परीक्षकको कार्यालयले वर्षेनी प्रतिवेदन राष्ट्रपति समक्ष सार्वजनिक गर्ने गरेको थियो । सो प्रतिवेदनको आधारमा राष्ट्रपति कार्यालयले बेरुजुप्रति सचेत गराउने काम गर्दै आएता पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । राष्ट्रपति कार्यालयले सचेत गराए तापनि बेरुजुप्रति सरकार र सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

महालेखा परीक्षकको कार्यालयले गत वैशाख ३१ गते बुधवार आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन राष्ट्रपति समक्ष सार्वजनिक गरेको थियो । महालेखाको सो प्रतिवेदनमा हालसम्मकै सबैभन्दा धेरै १२ खर्ब, ८४ अर्ब बेरुजु देखाइएको छ । यसलाई हेर्दा अहिलेसम्मकै सबैभन्दा धेरै बेरुजु भएको पाइन्छ । महालेखाको प्रतिवेदन अनुसार ३२७ वटा स्थानीय तहले आन्तरिक लेखापरीक्षणसमेत नगराएको पाइएको छ । त्यसैगरी नेपाल सरकारको स्वामित्वमा रहेका ४० वटा सरकारी संस्थाहरुले पनि आन्तरिक लेखापरीक्षण गरेको पाइँदैन ।

सो प्रतिवेदनलाई हेर्दा अहिले सबैभन्दा धेरै बेरुजुको चाङ्ग स्थानीय तहमा देखिन्छ भने त्योभन्दा कम संघ र प्रदेश सरकारमा देखिन्छ । एकातिर आर्थिकमन्दीको कारण विकास निर्माण ठप्प भएको छ भने अर्कोतिर भ्रष्टाचार, विकृति विसंगति र अनियमितताको कारण बेरुजुको चाङ्ग बढ्दै गएको छ । त्यसले गर्दा विकास निर्माणदेखि अन्य काममा समेत बाधा पुगेको छ । यो त सरकारी निकायमा देखिएको बेरुजु मात्र हो । अन्य निजी संघ, संस्थाहरुमा त महालेखाको आँखा पर्नसमेत सकेको छैन । अहिलेसम्म महालेखा परीक्षकको कार्यालयले सरकारी निकायको मात्रै बेरुजु देखाउने गरेको छ ।

त्योसँगै सरकारी स्वामित्वमा रहेका विभिन्न संघ, संस्थानहरुको आन्तरिक लेखापरीक्षण गरिएको पाइँदैन । सरकारी स्वामित्वमा रहेको देशकै पुरानो सञ्चारमाध्यम गोरखापत्र संस्थानले आन्तरिक लेखापरीक्षण नगरेको कारण प्रेस काउन्सिल नेपालले गत वर्ष पत्रपत्रिको वर्गीकरण गर्दा गोरखापत्रको कर चुक्ता प्रमाणपत्र नभएको भन्दै वर्गीकरणबाट हटाएको सूचना जारी गरेको थियो । सरकारी संस्थानहरुमा आन्तरिक लेखापरीक्षण नगरेर बेरुजुमा पर्ने गोरखापत्र संस्थान एउटा उदाहरण मात्रै हो ।

उता साल्ट ट्रेडिङ्ग कर्पोरेशनको कथाबेथा अर्कै छ । सो संस्थामा लामो समयदेखि एउटै व्यक्ति अध्यक्ष र सीईओ भइरहने, वर्षौदेखि आन्तरिक लेखापरीक्षणमा बेरुजु देखिएको छ । अध्यक्ष, सीईओ र वीभागीय प्रमुखको हालीहुमाली चलिरहने कारण संस्था लथालिङ्ग हुँदै गएको छ । संस्थाभित्र भ्रष्टाचार, विकृति विसंगति र बेरुजुको चाङ बढिरहँदा सम्बन्धित निकायबाट कुनै कारबाही भएको पाइँदैन । कर्पोरेशनको सीईओ रहेकी छिन् उर्मिला श्रेष्ठ । लामो समयदेखि श्रेष्ठ सीईओ भइरहँदा कर्पोरेशन भने दिनप्रतिदिन धराससायी बन्दै गएको छ । संस्था लथालिङ्ग भइरहँदा उल्टै सीईओ श्रेष्ठ भने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी थिइन् । उता, साल्ट ट्रेडिङका अध्यक्ष रहेका छन् प्रदिपलाल श्रेष्ठ ।

श्रेष्ठ सीइओ उर्मिला श्रेष्ठका आफ्नै दाइ हुन् । दाइ अध्यक्ष भएको फाइदा सीइओ श्रेष्ठले उठाउँदै आएकी छिन् । सीइओ श्रेष्ठले अध्यक्ष श्रेष्ठकै आडमा संस्थालाई धरासायी बनाएकी छिन् । दाजु बहिनीको मिलेमतोमा तल्लो तहका कर्मचारीहरु पेलिइरहेका छन् । कर्पोरेशनमा सीइओ श्रेष्ठले करारमा मनपरी कर्मचारी भर्ती गर्ने, सेवा अवधि सकिएकाहरुलाई फेरि नियुक्ति गरेर जागिर खुवाउने र आफ्नो दुनो सोझ्याउने काम गर्दै आएकी छिन् । श्रेष्ठ दाजु बहिनीको मनपरीले साल्ट ट्रेडिङ कर्पोरेशन दिनप्रतिदिन नाजुक बनिरहेको छ।

कर्पोरेशनमा बेथिती र नितीगत भ्रष्टाचारमा सीइओ उर्मिला श्रेष्ठ जसरी सक्रिय छिन् । त्यसलाई सघाउने काम विभागीय प्रवन्धक ब्रजेशकुमार झाले गर्दै आएका छन् । झाकै कारण साल्ट ट्रेडिङ दिनप्रतिदिन धरासाही बन्दै गएको छ । २०७२ सालको भूकम्प र भारतले नेपाललाई नाकाबन्दी लगाएको बेला एसटीसी ग्याँस सर्वसाधारणको पहुँचमा पु¥याएको भन्दै समाजसेवीको प्रचार गर्दै हिँडेका थिए । त्यतिबेला सबैलाई ग्याँस पु¥याउने नाममा आधा ग्याँस दिने भनेर एकतिहाई मात्र दिएर उपभोक्ता ठगी अकुत सम्पत्ति कमाएको आरोप झामाथि लागेको थियो ।

कर्पोरेशनको जागिर खाएर झाले आलिसान महल कसरी खाडा गरे भनेर कर्मचारीहरुले प्रश्न गर्न थालेका छन् । जागिर खाएको भरमा आलिसान महल ठड्याउनुका साथै ठाउँठाउँमा जग्गा जोड्न भ्याए भन्नेको ताँती पनि त्यत्तिकै छ । झाले आफन्तलाई करारमा जागिर खुवाउनेदेखि आन्तरिक शीर्षक खडा गरेर भत्ता वितरण गर्ने जस्ता अनियमितता गर्ने काममा सीईओ श्रेष्ठलाई सघाउँदै आएका छन् । विभागीय प्रवन्धक झा सीइओ श्रेष्ठले गरेको विभिन्न कर्तुतमा सहयोग गरेर विश्वास जित्न सफल भएका छन् । झा अफिसको कामभन्दा पनि सीईओ श्रेष्ठको अगाडिपछाडि डायरी बोकेर हिँडिरहेका हुन्छन् ।

चाडपर्वको बेला सुपथ मुल्य पसल सञ्चालन गरेर उपभोक्तालाई उपलब्ध गराउने खाद्यान्नमा पनि पुराना सामानलाई नयाँ प्याकिङ्ग गरेर विक्रिवितरण गरेको आरोप झामाथि लागिरहेको छ । त्यसैगरी आयोडिनयुक्त नुन पनि वर्षौ अगाडिदेखि प्याकिङ्ग गरिएको र घाममा सुकाएर राखिएको पाइन्छ । साल्ट ट्रेडिङले विक्रीवितरण गर्ने आयोडिनयुक्त नुनले अधिकांश मानिसमा थाइराइड, प्रेसर, सुगरजस्ता रोगहरु लाग्ने गरेको विज्ञहरु बताउँछन् । साल्ट ट्रेडिङले विक्रिवितरण गर्ने आयोडिनयुक्त नुनलगायत खाद्यान्नमा व्यापक मिसासवट र गुणस्तरहीन भएको गुनासो उपभोक्ताको छ । मानव स्वास्थ्यमाथि जोडिएको लापरबाहीपूर्ण व्यवहारप्रति सम्बन्धित निकायको ध्यान नगएको गुनासो उपभोक्ताले गर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *