काठमाडौं । ‘भाग्यमा भए, ढोकोमा दुध दुहेपनि अडिन्छ’ भनेझैं नेपाल निजामती कर्मचारीहरुको अभिभावक भएका मुख्यसचिव एकनारायण अर्यालको ‘तालुमा आलु’ फलेको छ । किन कि तत्कालीन मुख्यसचिव लिलादेवी गर्तौलाले जागिरबाट अवकास पाएसँगै तीनजना सिनियर सचिवलाई पाखा लगाएर चौथो वरियतामा रहेका अर्याल मुख्य सचिव बन्न सफल भएका थिए । अर्यालले आफू मुख्यसचिव बन्नको लागि विभिन्न हतखण्डा मच्चाउँदै आएका थिए । त्यसैगरी वर्षौंदेखि परिवारबाट बेपत्ता भएका प्रकाश तामाङलाई घरमै गएर नागरिक उपलब्ध गराउनेदेखि विभिन्न प्रकारका हर्कतहरु गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मख्ख पारेका थिए । कर्मचारी तन्त्रलाई चलायमान बनाएर देशमा सुशासन कायम गर्न सकेका छैनन् ।
अर्यालले मुख्यसचिवबाट अवकास पाएसँगै संवैधानिक आयोगमा नियुक्ति खाने सोच बनाएरका थिए । तर, दुई वर्षे ‘कुलिङ पिरियड’ लागु हुने भएपछि निजामती सेवाबाट अवकास प्राप्त भएपछि दुई वर्षसम्म राजनीतिक नियुक्ति खान नपाउने भएपछि अर्यालले संघीय निजामती ऐन लागु गर्न न्वारनदेखिको बल निकालेर लागिपरे । मुख्यसचिव अर्यालय लागेसँगै संघीय निजामती ऐन संसदीय समितिबाट पारित भएको छ । संघीय निजामती ऐन पारित भएसँगै निजामती कर्मचारीहरुको जागिरे अवधी पनि दुई वर्ष लम्बिएको छ ।
त्योसँगै जागिरबाट अवकास प्राप्त हुन लागेका मुख्यसचिव अर्यालको जागिरे अवधि पनि लम्बिएको छ । अर्यालले मुख्यसचिव भएको छोटो अवधिमा आफ्ना आसेपासेलाई विभिन्न महत्वपूर्ण निकायमा जागिर खुवाउनदेखि आफूनिकट महिला कर्मचारीहरुलाई मालदार अड्डामा फिट गरेका छन् । अर्यालले मालदार अड्डामा जागिर मात्रै खुवाएका छैनन्, त्यसबापत आयआर्जन गर्न समेत पछि परेका छैनन् । आफ्नो फाइदाको लागि देश आर्थिकमन्दीले टाट पल्टिइरहेको अवस्थामा कर्मचारीको तलब बढाउन लागिपरेका छन् । महंगी धान्नको लागि कर्मचारीको तलब भत्ता बढ्ने, उद्योगी, व्यापारीले मूल्य बढाउने अनि सर्वसाधारणले राज्यबाट चाहीं के पाउने ? भन्ने सर्वत्र उठ्न थालेको छ ।
अर्यालले आफ्नो जागिरे अवधिमा विभिन्न महत्वपूर्ण ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गर्न सफल भएको स्रोत बताउँछ । त्योसँगै उनले आर्जन गरेको सम्पत्ति विभिन्न व्यापारिक घरानासँग मिलेमतो गरेर उद्योग, धन्दादेखि शेयर बजारमा समेत लगानी गरेको बताइन्छ । अर्यालको जागिरे अवधि बढेसँगै आउँदा दिनमा कर्मचारीतन्त्रभित्र कस्तो नीतिनियम बनाएर लागु गर्छन् र कर्मचारीलाई कसरी चलायमान बनाउछन् त्यो पनि कर्मचारीवृत्तमा चर्चाको विषय बनेको छ । मुख्यसचिवले कर्मचारीहरुको लागि खेल्नुपर्ने भूमिका खेल्न नसकेको आरोप त्यत्तिकै छ ।
कतिपय योजना, आयोजनाहरुको फाइलमा सही नगरेर पन्छाउने गरेका छन् । मुख्यसचिवकै कारण कतिपय विकास निर्माणका कामहरु अलपत्र परेको गुनासा त्यत्तिकै छन् । त्यसँगै अर्यालले भनेको नमान्ने कर्मचारीहरुलाई अन्यत्र खेद्ने र काम गर्ने कर्मचारीहरुलाई अधिकारबाट बञ्चित गरेर बरन्डामा थन्क्याउने काम गर्दै आएको स्रोतको दाबि रहेको छ । मुख्यसचिव अर्याल एमाले निकट कर्मचारी भएकै कारण अन्य दल निकट कर्मचारीहरुलाई पाखा लगाउने काम गरेको आरोप समेत लाग्ने गरेको छ । त्यसले गर्दा सरकारले भनेजस्तो काम गर्न नसकेको गुनासो बढिरहेको छ ।