काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक ई.दिनेश भट्टले यस वर्ष मनसुन छिट्टै प्रवेश गर्ने भएकोले देशभर स्वयंसेवक खटाउने बताएका छन् ।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्मा क्षति न्यूनीकरणका लागि पहिलोपटक स्वयंसेवक परिचालन अभियानका रुपमा अघि बढाउन लागेको बताएका हुन् ।
ललितपुरबाट महानगरपालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्याइने लक्ष्य सहित देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर जाने उनले बताएका छन् ।
विपद्को बेलामा समन्वयलाई जोड दिँदै उनले तीनै तहका सरकार र निजी क्षेत्रसँग मिलेर अघि बढ्ने उल्लेख गरेका छन् । सुरक्षाकर्मीहरुले मात्रै अपुग हुने भएकाले तालिममात्र स्वयंसेवक पनि परिचालन गर्न लागिएको विपद् प्राधिकरणका निर्देशक भट्टको भनाइ रहेको छ ।