काठमाडौं । राजनीतिक दल र कर्मचारीबीचको कमाउधन्दाकै कारण देश दिनप्रतिदिन भ्रष्टाचारको अखडा बन्दै गएको छ । जुनसुकै क्षेत्रमा भ्रष्टाचारको विगविगी बढेको छ । भ्रष्टाचारकै कारण दैनिक कार्यदेखि विकास निर्माणका कामहरु हुन सकेका छैनन् । बिना कमिसन कर्मचारी र जनप्रतिनिधिहरुले कुनै काम गर्दैनन् । भ्रष्टाचारको शृंखला संघ, प्रदेशहुँदै स्थानीय तहसम्म फैलिएको छ ।
नापी, मालपोत, उद्योग, राजश्व, भन्सार, कर, यातायातलगायत मालदार अड्डामा कमिसन बिना कुनै काम हुँदैन । यस्ता कार्यालयहरुमा काम हेरेर एक हजारदेखि लाखौंसम्म घुस लेनदेन हुने गर्छ । त्यसको दाहरण लिन सकिन्छ कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरलाई । सो कम्पनी रजिष्ट्रारभित्र हुने विकृति, विसंगति र भ्रष्टाचारको समाचार ताकोकोशी सन्देशले पटक–पटक प्रकाशित गर्दै आएको थियो । त्योसँगै वर्ष १४ अंक ३३, २०८२ वैशाख ३ गते पनि ‘कम्पनी राजिष्ट्रारमा कमाउधन्दाको सेटिङ कहिलेसम्म’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
सो समाचार तामाकोशीले प्रकाशित गरेपछि कम्पनी रजिष्ट्रारका एक कर्मचारीले फोनबाट धम्की दिएका थिए । कम्पनी रजिष्ट्रारका कर्मचारीको धम्कीलाई न डगमगाई पुनः तामाकोशी सन्देशले समाचार सम्प्रेषण गरेपछि अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । यतिबेला कम्पनी रजिष्ट्रारको कार्यालयमा कर्मचारीभन्दा सिभिल प्रहरी बढी हुन थालेका छन् ।
अख्तियारले निगरानी बढाएपछि कम्पनी रेजिष्ट्रारका भ्रष्ट कर्मचारीहरुको ओठतालु सुकेको छ । विचौलियाले कमिसनको लोभमा ल्याएका फइलको काममा व्यस्त हुने कर्मचारीहरु यतिबेला नियमपूर्वक लाइनमा बसेका सेवाग्राहीको मात्रै काम गर्नुपर्ने भएपछि तिलमिलाउन थालेका छन् । उता विचौलियाहरुले ल्याएको काम पनि कमिसन खान नमिल्ने भएपछि अलपत्र पर्ने गरेका छन् । सर्वसाधारण सेवाग्राहीको त काम हुने कुरै भएन ।
कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख रजिष्ट्रार ईश्वर कुमार गिरीको कमाउधन्दा छुट्टै छ । अख्तियारले निगरानी बढाउँदा विभिन्न शाखाबाट आउने आम्दानीको स्रोत सुकेपछि ठूला, उद्योगी, व्यापारी र बैंक÷वित्तीय संस्थाहरुको मुद्दामामिला, नविकरण, दर्ता, अध्यावधिक, शेयरलगत जस्ता फाइलहरु आफ्नो कार्यकक्षमा मगाई कमिसनमा मिलाउने गर्दै आएको स्रोतले उल्लेख गरेको छ । प्रमुख रजिष्ट्रार ठूला–ठूला फाइलमा डिल गर्नतिर लागेका छन् भने अन्य शाखाका रजिष्ट्रारहरुको रुवावासी सुरु भएको छ ।