काठमाडौं । निजामती प्रशासन क्षेत्रलाई कसरी माटोमा मिलाइदैंछ, भन्ने उदाहरण खोज्न टाढा जान पर्दैन,संघीय मामिला तथा सामान्य प्रशासन,गृह प्रशासनले गरिरहेको सरुवालाई नजिकबाट हेरे पुग्छ । गृह प्रशासन बुझ्दै नबुझेका गोकर्णमणि दुवाडी अहिले सचिवको भूमिकामा छन्,रमेश लेखक त्यहाँका हर्ताकर्ता गृहमन्त्री हुन् । पर्सा जिल्लाबाट तीन जना मधेसी नेताहरु मन्त्री बन्ने मौका पाउँदा राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । त्यहाँ निजामती क्षेत्रमा सुधार गरौं भन्ने ध्येय बोकेका रविलाल पन्थ सचिव छन् तर निरिह सचिवले चाहेरमात्र कहाँ सुधार हुन्थ्यो र निजामती प्रशासन ।
शिक्षा सेवाका टेकनारायण पाण्डेलाई गृह सचिव बनाउँदा गृह प्रशासन ध्वस्त भएको थियो अहिले उही अवस्थामा छ,गृह मन्त्रालय । त्यहाँ एक दर्जन सहसचिव गृहको बरण्डामा छन् तर काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरादेखि बैतडी, डोटी, सल्यान, जुम्लामा उपसचिव स्तरका कर्मचारीलाई सिडिओ बनाएर पठाइएको छ । जबकी यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको अवस्था छ । डडेलधुरामा चोमेन्द्र न्यौपाने गत भदौ २४ गतेदेखि, जुम्लामा रामबहादुर शाही, डोटीमा मोहनराज जोशी,बैतडी जिल्लामा दिर्घराज उपाध्याय,सावित्रा पुन सल्यानको सिडिओको जिम्मेवारीमा छिन् । जबकी गृहको कौसीमा प्रेमप्रसाद भट्टराई ४ महिनादेखि हल्लिरहेका छन् । उनी रुपनारायण भट्टराईका आफ्नै भाइ हुन् ।
त्यसको अलावा शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, वासुदेव दाहाल बरण्डामा विगत लामो समयदेखिक गृहमा गर्मी खाइरहेका छन् । यीमध्ये आचार्य,पोखरेल,सुवेदीलाई माओवादी निकट कर्मचारी रुपमा चिनिन्छ । उनीहरुलाई बरण्डामा थन्काइएको छ । सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृहको बरण्डामै बसिरहेका छन् ।
दर्जन सहसचिवलाई बरण्डामा थन्काइएको छ । तर सहसचिवको दरबन्दी भएका महानगरपालिकादेखि अधिकांश उपमहानगरपालिकामा उपसचिवलाई हाकिमको जिम्मेवारी दिएर खटाइएको छ । सामान्यमा गोविन्दप्रसाद अधिकारी, सिर्जना थपलिया, हेमराज अर्याल, टंकनाथ लम्साल र निता शर्मा जगेडामा छन् भने सहसचिवको दरबन्दी भएको धरान उपमहानगरपालिकामा उपसचिव अम्बिकाप्रसाद चौलागाईं,नेपालगञ्ज उपमहानगरपालिकाका ओमबहादुर खड्का,कलैया उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,बुटवल उपमहानगरपालिकाका मित्रमणि खनाल, तुल्सीपुर उपमहानगरपालिकाका केशवराज पार्धे, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीलाई खटाइएको छ ।
सामान्यले दरबन्दी अनुसार सहसचिव पठाएको नगरपालिका भनेको हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिक भरत गौतम र जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं मात्र हुन । यस्तो विकृती र विसंगति हुँदा समेत मुख्यसचिव अर्याल भने मुकदर्शक बनेर हेरिरहेका छन् । सहसचिव जानै मान्दैनन भने ती जिल्ला र नगरपालिकामा दरबन्दी राखेको किन ? अनि दरबन्दी नै राख्ने हो भने खटाउन नसक्नु लाचारीपना होइन त ?