काठमाडौं । रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन् ।
बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि दोस्रोपटक कारागार चलान गर्ने आदेश दिएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतले जानकारी दिएको छ । सोमबार साँझ अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ । सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन आज जिल्ला अदालतमा उपस्थित भएका थिए ।
यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा दिएको पुनरावेदन निवेदनमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए ।