काठमाडौं । साउदी अरबले अब मदिरामाथिको प्रतिबन्ध नहटाउने भएको छ ।
सञ्चार माध्यममा छापिएका खबरहरूको खण्डन गर्दै एक साउदी अधिकारीले यस्तो बताएका हुन् । २०३४ मा साउदीले फुटबल विश्वकप आयोजना गर्ने र यस क्रममा यहाँ मदिरा बिक्रीमा ७३ वर्ष पुरानो प्रतिबन्ध हटाइने सञ्चार माध्यमले उल्लेख गरेका थिए । साउदी अरबमा मुस्लिमहरूका लागि मदिरा पिउन निषेध गरिएको छ ।
आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने र तेलमाथिको निर्भरता कम गर्ने योजनाको एक भागको रूपमा साउदीले पर्यटक र अन्तर्राष्ट्रिय व्यापारिक व्यक्तिहरूलाई आकर्षित गर्न हालैका वर्षमा केही प्रतिबन्धहरू खुकुलो पारेको छ । तर यहाँ अझै पनि मदिरा पिउन बन्देज रहेको छ ।