काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
बैठकको सुरुमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् । सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताएका छन् । उनले गृहमन्त्रीलाई अहिले नै दोषी करार नगर्ने भन्दै छानबिनका लागि पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म बैठक अगाडि बढ्न नसक्ने बताए ।