काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तत्कालीन गृहमन्त्रीको पालादेखि हालसम्म विभिन्न शीर्षकको भिजिट भिसाबाट नेपालीहरुलाई विदेश पाठउने धन्दा चल्दै आएको थियो । खासगरी भिजिट भिसामा नेपालीहरु विदेश पठाउने धन्दा म्यानपावर कम्पनी, कन्सलटेन्सी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय र गृहमन्त्रालयका कर्मचारीहरुको सेटिङमा हुने गरेको थियो । भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने धन्दाको समाचार सञ्चारमाध्यमले सम्प्रेषण गरे तापनि त्यसको सुनुवाइ हुने गरेको थिएन ।
म्यानपावर व्यवसायी कम्पनी र वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने वा नपठाउने विषयमा विवाद चलिरहेको थियो । त्योसँगै तत्कालीन अध्यागमनका कारबाहीमा परेका कर्मचारीहरुले सर्वोच्च र अख्तियारबाट सफाइ पाएपछि फेरि भनसुन र सोर्सफोर्सको आधारमा अध्यागमन कार्यालयमै फर्किएका थिए । कसैले पटक–पटक कमाउने अवसर पाइरहने त कसैले नपाउने भएपछि कर्मचारीबीचमै पोल खोलाखोल हुँदै आएको थियो ।
कर्मचारीको पोल खोलाखेलासँगै वैदेशिक रोजगार व्यवसायी संघका केही पदाधिकारीबीच घम्साघम्सी परेको थियो । वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन पदाधिकारीदेखि हालका पदाधिकारीसम्मले विभिन्न निकायमा सेटिङ गरेर भिजिट भिसामा नेपालीलाई विदेश पठाउँदै आएका थिए । म्यानपावर व्यवसायी संघ र म्यानपावर कम्पनी सञ्चालकहरुबीचको समन्वयकारी भूमिका नभएकै कारण केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए । त्यसैको आधारमा अख्तियारले यएरपोर्टस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो ।
अख्तियारले छापा मारेसँगै म्यानपावर कम्पनी, अध्यागमनका कर्मचारी, श्रममन्त्रालयका सचिव र वैदेशिक रोजगारी विभागका महानिर्देशक देखि र सुरक्षा निकायका प्रमुखहरुको सेटिङ भत्किएको छ । सेटिङ मात्रै भत्किएको छैन वैदेशिक रोजगार विभागका जिम्मेवार कर्मचारीहरु विभिन्न शाखामा परिवर्तन भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिव पुष्करहरि कर्णको सेटिङले मन्त्री सरदसिंह भण्डारीको सेटिङ भताभुङ्ग भएको छ ।
आफ्नो सेटिङ भत्किएपछि मन्त्री भण्डारीले महानिर्देशक भट्टराई र सचिव कर्णको सेटिङ भत्काउने तरखर गरिरहेका छन् । २० औं पटक मन्त्री हुन सफल भण्डारी जुनमन्त्रालयमा पुग्छन् त्यहाँ विवादमा फसिहाल्छन् । विवादमा मात्रै फस्दैनन् मन्त्री भण्डारी कमाउन पनि त्यत्तिकै माहिर छन् । कमाउधन्दामा माहिर मन्त्री भण्डारी अहिले सचिव कर्ण र महानिर्देशक भट्टराईको फन्दामा परेका छन् । भट्टराई शक्तिकेन्द्रको पावरमा विभिन्न मालदार अड्डा चहार्दै आएका कर्मचारी हुन् । उता, सचिव कर्ण पनि आधा मधेशवादी दलनिकट छन् भने आधा नेपाली कांग्रेस निकट कर्मचारी हुन् भन्ने चर्चा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा चल्ने गरेको छ । त्यसले गर्दा पनि गृहमन्त्रालय अन्तर्गत हुने भिजिट भिसाको सेटिङ अहिले आएर छताछुल्ला भएको छ । अख्तियारको छापाले भिजिट भिसाको सेटिङ ‘लहरो तान्दा पहरो गर्जिने’ भएको छ ।