चितवनको राजस्व कार्यालयमा दुई हजार भन्दा बढी करदाता निलम्बित, ६ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । चितवनको आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ ।

आन्तरिक राजस्व विभागले विगत ६ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका अनुसार कार्यालयमा रहेका दुई हजार चार सय मूल्य अभिवृद्धि करदाताले विवरण नबुझाएका मध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छ,भने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ ।

विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धिकर दर्ता निलम्बन गरिएको उनले जानकारी दिए । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेश गर्नुपर्छ ।

जिल्लामा दश हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो ।

विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *