काठमाडौं । काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) जात्रा सोमबारदेखि शुरु हुँदैछ ।
पनौतीवासीले त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल (जेठ २६ देखि २८गतेसम्म) हिलेजात्रा मनाउने गर्दछन् । जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्छन् ।
जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ ।
यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकोले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो ।