काठमाडौं । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।
आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ । त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।