काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।
गैरकानुनी सम्पत्ति कोइरीले विभिन्न क्षेत्रमा लगानी गरी लुकाएको समेत अख्तियारको अभियोगपत्रमा उल्लेख छ । गैरकानुनी सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको भेटिएपछि पत्नी मालाकुमारी महतोलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।
कोइरी सार्वजनिक सेवामा रहेको अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४३४ रुपैयाँ बराबरको वैध स्रोत खुलेको र यो अवधिमा भएको लगानी र आयव्ययको हिसाब ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको देखिएकाले स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।