काठमाडौं । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीको पाइपमा दूषित पानी मिसिएको हुन सक्ने आशंका का कारण वीरगञ्जका स्थानीयमा हैजाको प्रकोप देखापरेको हुन सक्ने बताएका छन् ।
उनले, ‘सोही आशंकाका आधारमा खानेपानी विभागको टोलीले प्रभावित क्षेत्रबाट नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको प्रयोगशालामा पठाएको छ । नमुनाको रिपोर्ट आज आउँछ होला । त्यसपछि मात्रै यसबारे यकिन साथ भन्न सकिन्छ ।’ भनि उल्लेख गरेका थिए ।
विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो ।

