काठमाडौं । गत चैत १३ गते स्वास्थ्य तथा खानेपानी मन्त्री नियुक्त भएकी निशा मेहताले स्वास्थ्यमा आशा जगाउन सकेकी छैनन् । प्रतिनिधि सभा निर्वाचनपछि संसदमा झण्डै दुई तिहाई सिट जितेको राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका नयाँ स्वास्थ्य मन्त्रीबाट पहिलेका विकृति विसंगती हट्ने र स्वास्थ्यको राम्रै अपरेसन हुने अपेक्षा सबैले गरेका थिए । तर स्वास्थ्य मन्त्री मेहता एक पछि अर्को गर्दै विवादको घेरामा पर्दै गएकी छिन् । तत्कालिन श्रम तथा रोजगार मन्त्री डा. दीपककुमार साहले आफ्नी पत्नी डा. जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डको सदस्यमा नियुक्ति दिलाउन स्वास्थ्य मन्त्री मेहतालाई प्रयोग गरेका थिए ।
स्वास्थ्य मन्त्री मेहता सजिलै यस मामिलामा प्रयोग भइन् र डा. जुनुलाई स्वास्थ्य विमा बोर्डको सदस्य नियुक्ति गरिदिइन् । मन्त्री साहले पदको दुरुपयोग गरेर पत्नीलाई नियुक्ति गरेको भन्दै चौतर्फी विरोध भएपछि प्रधाननन्त्री बालेन्द्र शाहले मन्त्री नियुक्ति भएको १३ दिनमै श्रम मन्त्री साहलाई पदभुक्त गरेका थिए । यो मामिलामा श्रम मन्त्री साह मात्र दोषी थिएनन् । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विमा बोर्डका अधिकारीले डा. जुनुले स्वास्थ्य विमा बोर्डको १० वटा बैठकमा उपस्थित नभएपछि स्वास्थ्य विमा ऐनले नै उनलाई पदभुक्त गरेकोले उनैलाई फेरि सोही पदमा नियुक्ति गर्न नमिल्ने सल्लाह दिए पनि स्वास्थ्य मन्त्री मेहताले त्यसलाई वास्ता नगरि डा. जुनुलाई स्वास्थ्य विमा बोर्डको सदस्यामा नियुक्ति गरेकी थिइन् ।
गल्ती गर्ने स्वास्थ्य मन्त्री भए पनि यसमा ‘धान खान मुसो, चोट पाउने भ्यागुतो’ भनेजस्तै भएको थियो । स्वास्थ्य मन्त्रीको प्रत्यक्ष गल्ती थाहा पाए पछि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र लेख्दै श्रम मन्त्री साहलाई पदमुक्त गर्न र स्वास्थ्य मन्त्री मेहतालाई सेचत गराउन भनेका थिए । सोही आधारमा प्रधानमन्त्रीले श्रम मन्त्रीलाई पद मुक्त गरे भने स्वास्थ्य मन्त्रीलाई भविश्यमा यस किसिमका गल्ती नगर्न सचेत गराएका थिए ।
त्यो काण्ड सेलाउन नपाउँदै स्वास्थ्य मन्त्रीले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई विभागबाट हटाएर मन्त्रालय तानेर गल्ती गरिन् । नियम विपरित औषधिको मूल्य बढाएको भन्दै विभागका महानिर्देशक ढकाललाई मन्त्रालय तानेर छानविन गर्न भन्दै मन्त्री मेहताले तिन सदस्यिय छानविन समिति गठन गरिन् । उक्त छानविन समितिलाई एक हप्ताभित्र छानविन गरि प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो । तर उक्त समितिका सदस्यहरुले एक हप्तासम्म त पत्र नै बुझ्न मानेनन् । त्यसपछि मन्त्री मेहताले अर्को समिति गठन गरिन् ।
त्यो समितिले पनि परिणाम दिने गरि काम गर्न सकिरहेको छैन । रास्वपाका सांसद राजिव खत्रीको जोडबलमा अगाडि बढेको त्यो छानविनमा पनि मन्त्री मेहताले सफलता पाउने छाटकाट देखिँदैन । ओषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई हटाएर मन्त्रालय तान्ने काममा रास्वपा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजिव खत्रीको हात रहेको बताइन्छ । खत्री यो भन्दा पहिले न्युज २४ मा पत्रकार र कार्यक्रम प्रस्तोत थिए । उनले औषधि व्यवस्था विभागका महानिर्देशक ढकालबाट आर्थिक लाभ उठाउन चाहन्थे ।
तर ढकालबाट त्यो संभव नभए पछि उनी बारम्बार औषधिको स्टोरी बनाएर टेलिभिजनमा प्रशारण गरिरहन्थे । त्यसपछि निर्वाचनमा उम्मेदवार नै भएर जितेपछि उनले संसदमा औषधिका विषयमा कुरा उठाएर ढकाललाई महानिर्देशकबाट हटाउन मन्त्री मेहतालाई दवाव दिए । जसको फलस्वरुप मन्त्री मेहताले ढकाललाई मन्त्रालय तानेकी हुन् ।औषधि व्यवस्था विभागमा सबैभन्दा वरिष्ठ र औषधिका विषयमा राम्रो बुझेका कर्मचारी मध्ये नारायण ढकाल पर्दछन् । ढकाललाई हटाएर विभागमा १० औं तहका कर्मचारीलाई कामूको जिम्मेवारी दिइएको छ । जसका कारण विभागले अहिले अपेक्षित काम गर्न नसकेको औषधि व्यवस्था विभागकै अधिकारी बताउछन् ।
सरकार गठन भएको १० दिनमै अर्थात् चैत २३ गते सरकारले सरकारी कार्यालयमा शनिबार र आईतबार गरि हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पछि स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालले आईतबार पनि सेवा दिनुपर्ने निर्णय गरिन् । तर नेपाल चिकित्सक संघ लगायतका संगठनहरुले आपूmहरुले पनि दुई दिन बिदा पाउनुपर्ने नभए विदामा काम गरेको अतिरिक्त भत्ता पाउनु पर्ने माग गरे पछि मन्त्री मेहता त्यो निर्णयबाट पनि व्याक भइन् ।
मन्त्री मेहताले स्वास्थ्यका अधिकारीको सरुवामा पनि उपयुक्त निर्णय गर्न सकिरहेकी छैनन् । स्वास्थ्यमा लामो समय काम गरेका र अनुभवी चिकित्सकलाई भन्दा नयाँको नाममा क्षमता र अनुभव दुबै नभएका चिकित्सकहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइरहेकी छन् । पहिलेको सरकारले नियुक्त गरेकै आधारमा योग्य चिकित्सकहरुमाथि सौतेनी व्यबहार गर्दै स्वास्थ्य क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दै गरेको छ । स्वास्थ्य विमा जस्तो प्रभावकारी र जनताको प्रत्यक्ष स्वास्थ्य उपचारसंग जोडिएको कुरालाई समेत महत्व नदिएर मन्त्री मेहताले आफ्नो अकर्मण्यता प्रदर्शन गरिरहेकी छन् । नर्स पृष्ठभूमिबाट आएकाले मन्त्री मेहताले वरिष्ठ चिकित्सकहरुलाई शंकाको दृष्टिले हेर्ने गरेको मन्त्रालयका एक उच्च अधिकारी बताउछन् । चिकित्सक भनेका नर्सलाई पेल्ने मात्रै हुन् भन्ने उनको दिमाकमा घुसेको छ ।
त्यसैले आफु पहिले नर्स भएपनि अहिले डाक्टरहरुभन्दा माथि भएकाले यो मौकामा डाक्टरहरुलाई पेल्नुपर्छ भन्ने उनको मानसिकता छ । त्यही अनुसार व्यवहार गर्ने गरेको मन्त्रालयका एक अधिकारीले भने । स्वास्थ्यका समस्या पार लगाउनका लागि मन्त्रालयका अनुभवी र इमान्दार कर्मचारी एवं विभिन्न अस्पतालका निर्देशकसहित चिकित्सकलाई साथमा लिएर काम गर्नुपर्नेमा मन्त्री मेहताले मन्त्रालयका अधिकारीको कुरै नसुन्ने तर रास्वपाका केही थान कार्यकर्ताको मात्र सल्लाह मान्ने गरेकाले स्वास्थ्य मन्त्रालयले अपेक्षिकृत काम गर्न सकिरहेको छैन ।
एक पटक पार्टी र प्रधानमन्त्रीले सचेत गराई सकेकाले कति बेला मन्त्री पद चैट हुन्छ ? भन्ने दोधारमा रहेकी मन्त्री मेहताले बाहिरका चिकित्सकको सल्लाहलाई सिरोधार्य गर्नुभन्दा मन्त्रालयका इमान्दार र अनुभवि कर्मचारी र चिकित्सकको सल्लाह मानेर अगाडि बढे मात्र स्वास्थ्यले अपेक्षित सफलता पाउने विज्ञहरु बताउछन् ।

