निजी क्षेत्रमा कर्जा वृद्धिदर चार प्रतिशतले वृद्वि, कर्जा तीन खर्बभन्दा बढी

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोडले बढेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँले बढेको थियो गत आर्थिक वर्षका निजी क्षेत्रको कर्जा वृद्धिदर ४.७ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *