काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसविरुद्ध विरोध प्रदर्शन तीव्र भएको छ ।
विपक्षी दलहरू, सरकारी कर्मचारीहरू, शिक्षकहरू र सेनामा पनि आक्रोश बढ्दै गएको छ । यसैबीच, ढाका महानगरीय प्रहरीले राजधानीको केन्द्रमा हुने सबै र्याली, विरोध र सार्वजनिक सभाहरूमा अनिश्चितकालीन प्रतिबन्ध छ ।
बंगलादेशी मिडियाहरुका अनुसार ढाका प्रहरीले मोहम्मद युनुसको आधिकारिक निवास जमुना गेस्ट हाउसु र बंगलादेश सचिवालय वरपरको क्षेत्रलाई पूर्ण रूपमा सिल गरेको छ । सचिवालयमा काम गर्ने अधिकारी र कर्मचारीहरूले सरकारको अध्यादेशको विरोध गरिरहेका बेला यो कदम चालिएको हो ।
यसअघि मे १० मा सरकारले सरकारी भवनहरूको सुरक्षाका लागि सीमा सुरक्षा बलर प्रहरी स्वाट टोलीहरू पनि खटाएको थियो । हाल, ईद बिदाका कारण विरोध केही समयको लागि रोकिएको छ, तर सरकारी कर्मचारीहरूले जुन १५ सम्ममा आफ्ना मागहरू पूरा नभए देशभरका सरकारी कार्यालयहरूमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अगस्ट २०२४ बाट सत्तामा आएको मोहम्मद युनुसको अन्तरिम सरकार पहिले नै विपक्षी दल बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले चुनावको समयसीमा तोक्न माग गर्दै घेरिएको छ । सेना प्रमुख वाकर–उज–जमानले डिसेम्बर २०२५ सम्ममा चुनाव गराउन पनि सल्लाह दिएका छन् । साथै, युनुसले अप्रिल २०२६ मा चुनाव गराउने संकेत गरेका छन्, जसले सत्तामा रहने उनको मनसायमाथि शंका बढाएको छ ।
सरकारी कर्मचारीहरूसँगै देशभरका हजारौं प्राथमिक विद्यालयका शिक्षकहरूले पनि तलब वृद्धि लगायतका धेरै मागहरूलाई लिएर अनिश्चितकालीन हडतालमा उत्रिएका छन् ।