जसले जे गरेतापनि अन्तत दुःख नेपाली जनताले नै पाइरहेका छन् । पछिल्लो समय राजनीतिक दलहरुले विभिन्न संघ संगठनहरुमा आ–आफ्नो स्वार्थ राखेर आन्दोलनमा होमिदै आएका छन् । नेपालको हरेक क्षेत्रमा राजनीति सम्बद्ध गासिएका छन् । राजनीतिक आडमा विरोध जनाएर सर्वसाधारणलाई दुःख दिने काम हुँदै आएको छ । नेपालमा हरेक राजनीतिक दलसँग गाँसिएर शिक्षा, स्वास्थ्य, संचार, यातायातलगायतका हरेक क्षेत्र राजनीतिक दल सम्बद्ध रहेर दलीय राजनीति गर्दै आएका छन् । व्यवसायीलाई राजनीतिकरण गरेर दलीय संरक्षणमा मनोमानी ढङ्गले काम गर्ने वातावरण सृजना भएको छ ।
त्यसमा सबै संघ संगठनहरुले राजनीतिक दलहरुको आड भरोसामा संघ संस्थाहरुको काम गर्दै आएका छन् । यसको परिणाम नेपाली जनताले भोग्न बाध्य भएका छन् । अहिले यातायात मजदुर संघले यातायात नै ठप्प पारेर विरोध जनाइरहेको छ । यसले गर्दा सर्वसाधारण आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । बिरामीहरू अस्पताल पुग्न सकेका छैनन् । आर्थिक नोक्सानी मुलुकले भोग्नुपरेको अवस्था छ । विरोधका पनि विभिन्न तौर तरिका हुन्छन्, तर नेपालमा आफूलाई मनलाग्दी गर्ने परम्पराको जग राजनीतिक दलहरुले नै बसालेका हुन् ।
सबै यातायात ठप्प पारेर गर्ने विरोधले प्रत्यक्ष प्रभाव भने सर्वसाधारण जनतालाई परेको छ । यस्तो समस्याको समाधान गर्न सबै क्षेत्रको आवश्यक छ । सरकारले पनि यस्ता समस्याको समाधानको लागि पहल गरेर अगाडि बढ्न सकेको पाइँदैन । अझ भन्नुपर्दा सरकारमै सामेल रहेका राजनीतिक दलहरूसम्बद्ध संगठनहरूको आन्दोलनले गर्दा सर्वसाधारण जनतालाई मर्का परिरहेको छ । सरकार कानमा तेल हालेर बसेको पाइन्छ । कहिले स्वास्थ्य संस्था बन्द गर्ने, कहिले शिक्षण संस्थाहरू बन्द, कहिले त यातायात नै ठप्प पार्ने जस्ता क्रियाकलापले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ ।
यो प्रवृत्तिको कारण नेपालको राजनीतिक संस्कार र राजनीतिक दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको छ । जनता विकल्पहिन भएका छन् । युवा र दक्ष श्रमशक्तिको विदेशिने लर्काे लागेको छ । मुलुकमा रोजगारी, लगानी, भौतिक पूर्वाधार विकासको वातावरण बन्न सकेको छैन । दैनिकी जसो विभिन्न संघ संस्थाहरूले गर्ने आन्दोलनले गर्दा पीडित जनताहरूको उठि बास हुने भएको छ । देशले कहिल्यै शान्ती पाउन सकेको अवस्था छैन । सर्वप्रथम राजनीतिक दल र सरकार सुध्रिनु त्यसपछि जनताले गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।