गुणस्तरहिन दुधजन्य पदार्थ विक्रिवितरण हुँदा जनस्वास्थ्यमा असर

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । बजारमा उद्योगी, व्यापारीहरुले अखाद्य वस्तुलाई मिसावट गरी बिक्री वितरणको लागि बजारमा पठाउने गरेका छन् । सोहि अखाद्य वस्तुहरु उपभोक्ताले प्रयोग गर्न महङ्गो मूल्य तिर्नपर्ने बाध्यता छ । उद्योग तथा वार्णिज्य आपूर्तिमन्त्री जुन पार्टीबाट बने तापनि छ÷छ महिनामा सचिव र सहसचिव फेरबदलसँगै वाणिज्य तथा आपुर्ति विभागको महानिर्देशकहरु सरुवा हुने गरेका छन् । उद्योगी, व्यापारी र विचौलियाहरुले सरकारलाई घेराबन्दीमा पारेर बजारमा अखाद्य वस्तुहरु मिसावट गरी विक्रिवितरण गर्दै आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र सहसचिवहरुले त्यस्ता उद्योगी व्यापारी र विचौलियाहरुलाई कारबाहीको दायरामा ल्याउन खोज्दा उल्टै सरुवामा पर्ने गरेका छन् ।

उता, तत्कालीन वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक राजन पोखरेललाई सो विभागको महानिर्देशक सम्हालेको वर्षदिन नपुग्दै सरुवा गरेर उनको ठाउँमा कुमार दाहाललाई ल्याइएको छ । दाहालले पनि वाणिज्य तथा आपूर्ति विभागको महानिर्देशक भएपछि अखाद्य वस्तु मिसावट गर्ने व्यापारी र विचौलियालाई कारबाहीको दायरामा ल्याउँदा विवादमा तानिने भएका छन् ।

त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित दुधडेरीहरुले दुध, दहि, मोहि, घिउ, पनिर जस्ता दुधजन्य वस्तुहरुमा पानी तथा अन्य केमिकलयुक्त पदार्थहरु मिसावट गरी बजारमा विक्रिवितरण गरिरहेका छन् । यी दुधजन्य वस्तुहरुमा मिसावट भइरहँदा पनि त्यसको अनुमगन गर्ने उपभोक्ता मञ्च र वाणिज्य तथा आपूर्ति विभागले ध्यान दिएको छैन । दुधजन्य पदार्थमा मिसावटमात्र भएको छैन क्वालिटिहिन र दुधजन्य पदार्थ राख्ने भाडा सफा पाइदैन । त्यसमा पनि खुलमखुला दुध दहि र मोहिका भाडाहरुमा ढकनले नछोपी गाडीमा राखेर विक्रिवितरण गर्नेगर्दा धुलोधुवा र बर्षायामका बेलामा पानी पस्ने गरेको उदाहरण थुप्रै छन् । तर उपभोक्ताले त्यतातिर ध्यान नदिइकन दुधजन्य पदार्थहरु प्रयोग गरिरहेका छन् ।

दुध, महि, घिउ, मख्खन चिज, बटर जस्ता दुधजन्य सामग्री उत्पादन गर्ने कम्पनीहरुको पनि अनुगमन गरेको पाइँदैन । त्यस्ता कम्पनीमा उत्पादन गर्ने स्थानभित्र सरसफाइको अवस्था कस्तो छ भनेर अनुगमन समेत गरेको पाइँदैन । खासगरी बजारमा उपभोक्ताहरुले प्रयोग गर्ने धेरैजसो दुधजन्य पदार्थसँगै जारको पानी प्रयोग गर्ने गरेका छन् । त्यहि दुधजन्य पदार्थ र जारको पानी शुद्ध नभएको कारण अधिकांश मानिसहरु झाडापखाला ज्वरो, रुघाखोकीले विरामी हुने गरेका छन् । तर वाणिज्य तथा आपूर्ति विभाग, मन्त्रालय, उपभोक्ता मञ्च र खाद्य तथा गुण नियन्त्रण विभागले दुधजन्य पदार्थ र पानी कम्पनीहरुको अनुगमन गरी त्यसको वास्तविकता सार्वजनिक गर्न सकेको छैन ।

अर्काेतर्फ गर्मी सिजन सुरु भएसँगै बजारमा आइसक्रिम, बरफ, कुल्फी जस्ता वस्तुहरु बालबालिका र युवायुवतीहरुले बढि मन पराउने गरेका छन् । त्यस्ता आइसक्रिम, बरफ र कुल्फीहरुको कम्पनी कुन अवस्थामा छन् र त्यसमा प्रयोग हुने सामानहरु कस्ता छन् भनेर कुनै निकायले अनुगमन गरेको पाइँदैन । दुधजन्य वस्तु विक्रीवितरण गर्ने कम्पनीहरुले फ्रिज किनिदिएर विक्रिवितरणको लागि दुधडेरीहरुलाई दिने गरेका छन् । सो फ्रिजमा ती वस्तुहरु बर्षौदिनसम्म राखिएको पाइन्छ । सो आइसक्रिम, बरफ, कुल्फी खाने अवधि कहिलेसम्म हो त्यसको बारेमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । उल्टै व्यापारीहरुले उपभोक्ताहरुलाई आइसक्रिम, बरफ, कुल्फीजस्ता चिजहरु मिति सके तापनि विक्रिवितरण गरेको पाइन्छ । त्यसबाट हुने असरबारे उपभोक्तालाई कुनै जानकारी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *