पनौतीमा जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको आज मुख्य दिन

विविध समाचार

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ ।

यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको आज मुख्य दिन हो । आज पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एकापसमा जुधाइन्छ । जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु आजको जात्रामा सहभागी हुन्छन् ।

तीन वटा रथ एक आपसमा जुधाई जात्रा मनाउने प्रचलनलाई श्रृष्टि चलाउन यौनकर्म अनिवार्य रहेको र उक्त यौनकार्य मर्यादित, नैतिक र स्वच्छ हुनुपर्छ भन्ने सन्देश बोकेको मान्यता रहेको छ । जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने (रोपाइँ शुरु गर्ने) परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिन्छ । जात्रा अवधिभर वर्षा शुरु हुने किंबदन्ती छ ।

पनौतीको जात्रा पनौतीको १२ वर्षे मकर मेलासँग पनि सम्बन्धित रहेको विश्वास रहेको छ । किवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *