काठमाडौं । काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनावीरुद्व भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
बुधबार विशेष अदालतमा अख्तियारले उनीहरुमाथि काठमाडौं महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोग लागेको हो । जसअनुसार सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरा देखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा अनियमितता भएको देखिएको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले परियारसहित कर्मचारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादी बनाएको छ । आयोगका अनुसार, समानान्तर सेवा प्रालिले सबैभन्दा कम करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा दोस्रो कम कबोल २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको थियो ।
जसका कारण काठमाडौं महानगरपालिकालाई ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ ३२ पैसाको हानि भएको आयोगले जनाएको छ ।