काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद्को अवरोध जारी रहेको छ भने सहमतिका प्रयास पनि सफल हुन सकेको छैन ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् ।
संसदको अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शिर्ष नेताहरुले खासै पहल नगरेको देखिनुलाई अचम्म मानिएको छ । प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदको अवरोध खुलाउने विषयमा सक्रिय देखिएका छैनन् । प्रचण्डले केहि दिन अघि विपक्षी दल र कांग्रेससँग छलफल गरेर सहमति नजिक पुगेको भने पनि नतिजा उनको भनाइ अनुसार आएको देखिएन ।
अहिले उनी पार्टीको कार्यक्रममा गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अवरोधको विषयमा प्रचण्ड र देउवासँग एक पटक छलफल गरेको विषय बाहिर आएको थियो । त्यस्तै कांग्रेस सभापति देउवाले एक पटक प्रचण्डसँग छलफल गरेको देखियो । त्यो बाहेक शिर्ष नेताहरुले संसद्को अवरोध बारे ठोस पहल गरेको देखिएको छैन, जुन आश्चर्यजनक रहेको छ ।
आज अपराहन्न ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अघि पनि विपक्षी दलहरु र सत्ता पक्षबीच छलफल हुने भनिएको छ तर आज संसदको अवरोध खुल्छ भन्ने ठोस आधार अहिलेसम्म देखिएको छैन ।

