कर्मचारीहरु लोभमा नफस्नु, आन्तरिक शक्ति विकास गर्नु नै देशको हित हो

अन्तरवार्ता राजनीति

पूर्व गृह सचिव तथा लोसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली
तत्कालीन गृहसचिव तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनाली एक वरिष्ठ प्रशासकको रुपमा चिनिन्छन् । जसले गर्दा गृह तथा लोकसेवा आयोगद्वारा देशको प्रशासनिक र संवैधानिक सुधारतर्फ ठोस योगदान पुर्याउने व्यक्ति हुन् । डिजिटल सेवा प्रवाह, निष्पक्ष कर्मचारी नियुक्ति, र संवैधानिक मर्यादामा ख्याल राख्न सक्ने कर्मचारी हुन् । शासन प्रणाली कार्यान्वयन गर्न उनले योगदान दिएका छन् । मैनाली नेपाली प्रशासन सेवाका उच्चपदस्थ र अनुभवी कर्मचारी हुन् । मैनालीले लामो समयदेखि विभिन्न महत्वपूर्ण सरकारी निकायमा सेवा गदै आएका थिए । उनै मैनालीसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश प्रतिनिधिले गरेको कुराकानीको अंशः

० संघीयता कार्यान्वयन भएको झन्डै एक दशक हुन लाग्दा पनि संघीय निजामती सेवा ऐन नआउनु को कारण के–हो ?
संघीयता कार्यान्वयन भएको झन्डै एक दशक बितिसक्दा पनि संघीय निजामती सेवा ऐन आउन नसक्नुको मुख्य कारण कर्मचारी वर्गकै स्वार्थ रहेको छ । ऐन बन्ने प्रक्रियामा राजनीतिक नेतृत्वभन्दा बढी बाधा निजामती कर्मचारीहरुकै आन्तरिक स्वार्थ, तहगत द्वन्द्व र संगठनगत प्रभावले गर्दा संघीय निजामती ऐन आउन नसकेको हो । ऐन नआउनुमा प्रमुख दोष कर्मचारीहरू नै हुन् । कसैलाई कुलिङ पिरियड राख्न परेको छ, कसैलाई हटाउनु परेको छ, कसैलाई नायब सुब्बाको बढुवा प्रतिशत बढाउनु परेको छ—यी सबै आन्तरिक स्वार्थका बुँदाहरू रहेका छन् । राजनीतिक दल निकट कर्मचारी संगठनहरूबीचको प्रतिस्पर्धा र प्रभुत्वको होडले समेत ऐनको प्रक्रिया अवरुद्ध बनेको छ । दल निकट कर्मचारी संगठनहरूको आफ्नै द्वन्द्व छ।

नेतृत्व र संगठन कब्जाको लडाइँले सेवा ऐन बन्नै दिएको छैन । कर्मचारीतन्त्रभित्र स्वार्थको जालो बलियो छ । किनकी नीति निर्माणको प्रयास बारम्बार स्वार्थको पर्खालमा अड्किएको छ । यो केवल राजनीतिक नेतृत्वले अवरोध ग¥यो भनेर दोष दिने विषय होइन । अहिलेको संकटको मूल जरो स्वयं कर्मचारीहरू भित्रै छ । संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारी समायोजन, सरुवा, बढुवा, तथा प्रशासनिक संरचना स्पष्ट हुन सकेको छैन । यसले संघीय शासन प्रणालीलाई अपूर्ण, अन्योलग्रस्त र अव्यवस्थित बनाएको छ । निजामती सेवा ऐन संघीय शासनको मेरुदण्ड हो जसले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको कार्यक्षेत्र, अधिकार, सरुवा, बढुवा, सेवाशर्त, जवाफदेहिता आदिको स्पष्टता दिन्छ । त्यसले गर्दा ऐनको अभावमा संघीयता केवल भूगोलको पुनर्संरचना मात्र बनेको छ, प्रशासनिक संरचना अझै एकीकृत सोचमा चलेको छैन ।

० ऐन अभावमा देखिएको कर्मचारी समायोजन र बढुवामा अन्योलले प्रशासन क्षेत्रमा कस्तो असर परिरहेको छ ?
ऐनको अभावमा कर्मचारी समायोजन हतारमा गरिएको अस्पष्ट कार्यविधिबाट गरिएको छ । कतै कर्मचारीको अधिकतम जमघट भएको छ भने कतै सेवा नै ठप्प भएको छ । बढुवाको प्रक्रिया ढिलो, विवादित र अपारदर्शी भएको छ । यसले कर्मचारीको मनोबल खस्किएको छ । उता, स्थानान्तरण र पदपूर्तिको विषय पनि विवेकभन्दा सम्बन्ध र पहुँचले निर्धारणमा गरिने प्रवृत्तिले निष्पक्षतालाई क्षति पु¥याएको छ । यसको असर अन्ततः नागरिक सेवाको गुणस्तरमा देखिएको छ ।

० यो कानुन अलपत्र पर्नुमा राजनीतिक नेतृत्व दोषी हो कि कर्मचारीतन्त्र दोषी ?
मैले अगिनै भने यसको मुख्य दोष नै कर्मचारीहरुको छ । कर्मचारीहरुकै आन्तरिक स्वार्थ, तहगत द्वन्द्व र संगठनगत प्रभावले गर्दा ऐन नआउनुमा प्रमुख दोष कर्मचारीहरू नै हुन् ।

०संवैधानिक निकाय वा विशिष्ट पदबाट अवकाश लिएका व्यक्तिहरुलाई केही समयसम्म पुनः नियुक्ति नदिने ‘कुलिङ पिरियड’को प्रस्तावबारे तपाईंको धारणा के छ ?
कुलिङ पिरियडको प्रस्ताव मूलतः नियामक शुद्धता र संस्थागत निष्पक्षता कायम राख्न गरिन्छ भन्ने म ठान्दछु । संवैधानिक निकाय, जस्तो लोकसेवा आयोग, अख्तियार, निर्वाचन आयोग, न्याय परिषद् जस्ता संस्थामा बसेर काम गरिसकेपछि तुरुन्तै अरू राजनीतिक वा कार्यकारी भूमिकामा खटिनु भनेको हितको टकराव सिर्जना गर्नु हो । यसले गर्दा ती संस्थाको निर्णय र निष्पक्षताको बारेमा जनविश्वासमा प्रश्न खडा हुन्छ । उदाहरणको लागि, लोकसेवा आयोगको अध्यक्षले केही व्यक्तिको सिफारिस वा चयनमा निर्णयकारी भूमिका खेलेका हुन्छन् । त्यो जिम्मेवारीबाट बाहिरिएपछि त्यही निकाय वा सरकारसँग प्रत्यक्ष लाभ लिने किसिमको पदमा बस्नु भनेको नैतिक अपारदर्शिता र संस्थागत अखण्डतामाथि प्रहार गर्नु हो ।

यस्तो अवस्थालाई नियन्त्रण गर्न ‘कुलिङ पिरियड’ जस्ता अवधारणा ल्याउने हो भने त्यो अत्यावश्यक र समयानुकूल निर्णय ठहरिन्छ । तर, यसमा पनि सन्तुलन चाहिन्छ । हामीले सैद्धान्तिक रूपमा सबैलाई एकै थरीमा हालेर निषेध गर्ने होइन, विवेक प्रयोग गरेर हेर्नुपर्छ—कसको पृष्ठभूमि के हो? कुन पदमा जाँदैछन्? जिम्मेवारीको प्रकृति कस्तो हो? र त्यसले अघिल्लो पृष्ठभूमिसँग हितको टकराव सिर्जना गर्छ कि गर्दैन? यति ठूलो प्रशासनिक अनुभव, दक्षता र समझदारी बोकेको व्यक्तिलाई ‘अब केही काम गर्न पाइँदैन’ भनेर निस्कृय बनाउनु पनि मुलुकको क्षति हो ।

त्यसैले म ठान्दछु—कुलिङ पिरियड आवश्यक छ, तर त्यो एकदलीय नाराको शैलीमा लागू हुनुहुँदैन । हामीले योग्यताका आधारमा छनोट गर्ने, टकरावको जोखिम भए नदिने, नभए उपयोग गर्ने नीति लिनुपर्छ । यसलाई हामी संयमित, विवेकपूर्ण र उद्देश्यमा केन्द्रित नीति बनाएर कार्यान्वयन गर्न सक्दछौं भने, यसले हाम्रो शासन प्रणालीलाई स्वस्थ बनाउनेछ । कुलिङ पिरियड भन्ने अवधारणा राज्य सञ्चालनमा नैतिकता, निष्पक्षता र संस्थागत क्षमताको सुदृढीकरणको लागि अत्यन्त महत्वपूर्ण हो । संवैधानिक पद वा उच्च प्रशासनिक पदबाट सेवा अवकाश लिएकाहरू तुरुन्तै अर्को पदमा नियुक्त हुँदा त्यसले नीति निर्माण, छानबिन वा नियमन प्रक्रियामा निष्पक्षताको प्रश्न उठाउँछ । यसले सत्ता नजिक हुनेहरूको निरन्तर पुनः प्रयोगको माध्यम पनि बन्न सक्छ । तसर्थ, न्यूनतम कुलिङ पिरियड आवश्यक छ ।

० के कुलिङ पिरियडले प्रशासनिक अनुभव बोकेका व्यक्तिलाई अन्याय हुन्छ भन्ने त होइन ?
यदि कुलिङ पिरियड निष्पक्ष, स्पष्ट मापदण्डसहित लागू गरिन्छ भने यो अन्याय होइन । तर यदि लक्षित रूपमा प्रयोग गरिन्छ, वा अनुभव र दक्षता भएका व्यक्तिलाई केवल अविश्वासको आधारमा रोक्ने उपाय बनाइन्छ भने त्यो अन्याय हुनसक्छ । त्यसैले अनुभवलाई गुमाउनु नपरोस् र निष्पक्षता पनि कायम रहोस् भन्ने सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

० गृह मन्त्रालयमा देखिएको भिजिट भिसा दुरुपयोग प्रकरण तपाईंको नजरमा प्रशासनिक असफलता हो कि व्यक्तिगत स्वार्थको चरम दुरुपयोग हो ?
यो प्रकरण प्रशासनिक असफलता र व्यक्तिगत स्वार्थको खतरनाक मिसावट हो । जब संस्थागत प्रक्रिया कमजोर हुन्छ, पारदर्शिता छैन, र अनुगमन छैन, त्यहाँ व्यक्तिगत स्वार्थ हावी हुन्छ । भिजिट भिसाको दुरुपयोग एउटा मन्त्रालयको त्रुटिमात्र नभई राज्य संयन्त्रको समग्र कमजोरीको उदाहरण हो ।

० भ्रष्टाचारले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पार्छ ?
यसले नेपालको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा धुमिल पार्छ । भिसा दुरुपयोग मानव बेचबिखनको अखडा बन्न सक्छ, जुन अन्तर्राष्ट्रिय समुदायको चासोको विषय हो । यसले वैदेशिक सहयोग र साझेदारहरूको विश्वास खस्काउँछ । प्रशासनिक प्रणालीको विश्वसनीयता गुमाउँछ ।

० यस्तो संवेदनशील विषयमा जिम्मेवारी कसको हो ?
कारण—राजनीतिक संरक्षण, अनुगमन संयन्त्रको कमजोरी, निष्प्रभावी अनुसन्धान, सार्वजनिक संस्थानहरूमा उत्तरदायित्वको अभाव । जब जिम्मेवारीको स्पष्टता हुँदैन, प्रक्रिया ढिलो हुन्छ, र दोषी सजायबाट बच्छ, तब यस्तो कमजोरी निरन्तर दोहोरिन्छ ।

० अख्तियारले पछिल्लो समय निगरानी गरेकोलाई के–भन्नु हुन्छ ?
अख्तियारले कतिपय साना कर्मचारी, स्थानीय तहका प्रतिनिधि वा थोरै प्रभाव भएका व्यक्तिमाथि मात्र कारबाही केन्द्रित गरेको देखिन्छ । ठूला र प्रभावशाली पात्रहरू भने छानबिनको दायरामा आउन सकेका छैनन् । यसले निष्पक्षतामाथि प्रश्न उठाएको छ । कार्यदक्षता भनेको मात्र मुद्दा उठाउनु होइन, त्यसको निष्कर्षमा पुग्नु हो—जसमा अख्तियार कमजोर देखिन्छ ।

० अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त गर्न के गर्नुपर्छ ?
नेतृत्व चयनको प्रक्रिया संसदको विशेष बहुमतमा आधारित, प्रतिस्पर्धी र पारदर्शी हुनुपर्छ । आर्थिक र प्रशासनिक स्वतन्त्रता दिनुपर्छ । संसदीय अनुगमन र नागरिक निगरानी प्रणाली बलियो बनाउनु पर्छ । साथै, छानबिन टोलीको दक्षता र गोपनीयता सुनिश्चित गर्नुपर्छ ।

० आजको प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्नुको कारण के हो ?
अत्यन्त गम्भीर नियुक्ति, सरुवा, बढुवा, अनुशासन—सबैमा राजनीतिक पहुँच निर्णायक भएको अवस्था छ । यसले दक्षता, निष्पक्षता र निष्पादन क्षमतामा नकारात्मक असर पारिरहेको छ । कर्मचारी कार्यकर्ता बन्न पुगेका छन् ।

० संघीयता कार्यान्वयनपछि स्थानीय तहमा सेवा प्रवाह नहुनुको कारण के हो ?
कारणहरूः १) जनशक्ति अभाव, २) तालिम र दक्षताको कमी, ३) वित्तीय तथा कानुनी अधिकारको अस्पष्टता, ४) स्थानीय तहमा कर्मचारी अस्थायी वा सरुवा झेलिरहेको अवस्था । समन्वयको कमीकमजोर संरचनाले सेवा प्रवाहमा असन्तुलन जस्ता कारण हुन् ।

० लोकसेवा आयोगको पारदर्शिता, परीक्षामा ढिलाइ, तथा न्यायिक प्रक्रिया लामो हुने गुनासो बढिरहेको छ—तपाइले कसरी मूल्यांकन गर्नु भएको छ ?
गुनासाहरू जायज छन् । परीक्षा समयमै नभएर नियुक्ति ढिला भएको छ । परिणाम प्रकृयामा पारदर्शिता अभाव, सूचना प्रवाह कमजोर र न्याय सम्पादन ढिलो भएको छ । समस्याको मुख्य कारण हुन् । आयोगलाई आधुनिकीकरण, प्रविधि उपयोग र स्वचालित प्रणालीको खाँचो रहेको छ ।

० आरक्षणसम्बन्धी बहसले आयोगको निष्पक्षता कति प्रभावित छ ?
आरक्षण एउटा आवश्यक समानताको उपाय हो, तर यसको व्यवस्थापन पारदर्शी, सन्तुलित तथ्यमा आधारित हुनुपर्छ । अत्यधिक आरक्षण वा गलत कार्यान्वयनले योग्यताको अवमूल्यन गराउँछ । आयोगले स्पष्ट नीति नअपनाउँदा आरक्षणले आयोगको निष्पक्षता माथि शंका उठाएको छ ।

० अहिलेका कर्मचारीहरू कत्तिको प्रेरित, जिम्मेवार र निष्पक्ष देख्नुहुन्छ ?
थुप्रै कर्मचारी अझै पनि समर्पित र जिम्मेवार छन्, तर नेतृत्वको अभाव, राजनीतिक हस्तक्षेप र करियर अनिश्चितताले उनीहरूको मनोबल घटेको देखिन्छ । मूल्यांकन प्रणाली निष्प्रभावी भएकाले निष्पक्षता पनि खस्किएको छ ।

० कर्मचारी समायोजनपछि केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय कार्य भूमिका किन जटिलता बन्दै गएको छ ?
संरचनागत स्पष्टता छैन । जिम्मेवारीपन छैन । तालिम, प्रविधि र नीति समन्वयको अभाव छ । केन्द्र अझै नियन्त्रणवादी छ भने प्रदेश र स्थानीय तहसँग अधिकार छ तर स्रोत छैन । यसले समन्वयलाई जटिलता बनाउँदै लगेको छ ।

० तपाईंको अनुभवमा प्रशासन सुधारको लागि के–के गल्ती गर्नु भयो ?
स्थायीत्व, नीति निरन्तरता, कार्य मूल्यांकन, र नागरिक उत्तरदायित्व । हामीले सुधारको लागि राजनीतिक इच्छाशक्ति गुमाएका छौं । प्रविधिको प्रयोगको अवसर उपयोग गर्न सकेनौं । संस्थागत सम्झौता र साझा दृष्ट्रिकोण निर्माणमा चुकेका छौं ।

० आजको पुस्ताले सरकारी सेवा रोज्दा कुन मान्यता र मूल्य अँगाल्नुपर्छ ?
इमान, पारदर्शिता, निष्पक्षता, र जनसेवामा समर्पण । सरकारको जागिर केवल तलब होइन, जनताको विश्वास हो भन्ने सोच हुनुपर्छ । युवाले संविधान पढ्नुपर्छ, कानुन बुझ्नुपर्छ, र डर वा लोभमा नफस्नु,आन्तरिक शक्ति विकास गर्नु आजको लागि यहि नै शिक्षा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *