काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अधिवक्ता युवराज सफलले महानगरको कार्यालयमा बिना प्रतिष्पर्धा, बिना टेण्डर र बिना कोटेसन लिफ्ट जडान गरिएको भन्दै बालेनविरुद्ध अनुसन्धान गर्न बिहीबार अख्तियारमा उजुरी दिएका हुन् ।
‘लिफ्ट’ जडानसम्बन्धी टेन्डर बोलपत्रलगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल–भौचरलगायतका कागजात झिकाएर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि उजुरी दिएको सफलले बताएका छन् । उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन् ।

