नासुलाई सह–सचिवको जिम्मेवारी दिँदा कर्मचारीबीच कुटाकुट

राजनीति समाचार

काठमाडौं । कांग्रेसनिकट निजामती कर्मचारी युनियनभित्र विकृति, विसंगतिले सिमा नाघेको छ । युनियनको नवौं अधिवेशन नहुँदा कर्मचारी नेताबीच कुटाकुटको स्थिति सिर्जना भएको थियो । युनियनका कार्यबहाक अध्यक्ष उत्तम कटुवाल र महासचिव जनक रावलको भिडन्तले कर्मचारी संगठन नै तहस नहस भएको छ । कर्मचारी युनियनको निर्वाचन भाड्नको लागि महासचिव रावलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दा अहिलेसम्म विचाराधिन अवस्थामा छ । उता नियुक्तिको विषयलाई लिएर काबा अध्यक्ष कटुवाल र महासचिव रावलबीच केही हप्ता अगाडि मारमुग्री भएको थियो । मारमुग्री भए तापनि महासचिव रावल पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा सहसचिवस्तरको जिम्मेवारी सम्हाल्न सफल भएका छन् । उता अध्यक्ष कटुवाल हेरेको हेरै भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री कांग्रेस नेता रामनाथ अधिकारी रहेका छन् । मन्त्री अधिकारीले वर्षायामसँगै खेतीको सिजन सुरु भइसक्दा पनि मल र बीऊविजनको व्यवस्था गर्न सकेका छैनन् ।

कृषिजन्य उत्पादनलाई बजारसँग जोड्न नसकेको आरोप पनि मन्त्री अधिकारीमाथि त्यत्तिकै लागिरहेको छ । त्योसँगै नासु स्तरका रावललाई सह–सचिवस्तरको जिम्मेवारी दिएर पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा पु-याएर आलोचनाको पात्र बन्न पुगेका छन् । त्यहीं विषयलाई लिएर काबा अध्यक्ष कटुवाल र महासचिव रावलबीच घम्साघम्सी सुरु भएको छ । एकातिर कटुवाल र रावलबीचको लडाइँले कर्मचारी युनियनको अधिवेशन हुन नसकेर संगठन नेतृत्व बिहीन भएको छ भने अर्को नियुक्तिको विषयलाई लिएर मन्त्री अधिकारी विवादमा तानिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको ठाडो आदेशको कारण रावललाई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा नियुक्ति गर्न मन्त्री अधिकारी वाध्य भएका हुन् । अर्कोतर्फ संघीय निजामती ऐन लागु गर्नको लागि कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन् । कांग्रेस निकट कर्मचारीहरु आफ्नै संगठनभित्रको झगडाले गर्दा यस विषयमा सामेल हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *