काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।
यो खेल नेपाली समय अनुसार साँझ पौने आठ बजेदेखि शुरु हुँदैछ । स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले तीन खेलमा दुई जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका तीन खेलमा एक खेल जितेको छ भएन दुई खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले दुई जित र दुई हार बेहोरेको छ ।
नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक–एक खेलमा पराजित गरेको थियो । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल दुई टी–२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।
आइसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ ।
यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

