शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं:प्रचण्ड

राजनीति विविध समाचार

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको उल्लेख गर्दै यस्तो बताएका हुन् । शिक्षकहरूको गुनासो र माग सुनेपछि प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले,‘शिक्षा पेशा भनेको देशको भविष्यसँग गाँसिएकोले यो सम्मानित पेशा हो । सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं ।’ भनि उल्लेख गरेका छन् ।

प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *