काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीभित्रको आन्तरिक झगडा साम्य पार्न अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच रस्साकस्सी सुरु भएको विपक्षी दलहरुले चर्चा गर्न थालेका छन् । बाहिर यस्तो देखिएतापनि एमालेभित्रको वास्तविकता भने छुट्टै छ । झट्ट हेर्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच टसल देखिए तापनि भित्री रहश्य अर्कै छ । पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने हल्लाले पार्टीभित्र हल्लीखल्ली मच्चिन थालेपछि अध्यक्ष ओलीले नेता, कार्यकर्तालाई भण्डारीको धेरै चर्चा नगर्न आदेशसमेत दिन थालेका छन् ।
किन कि महासचिव शंकर पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र हुन् । त्यसकारण ओलीले भावी अध्यक्षमा दावी नगरेको खण्डमा पोखरेल एमालेको भावी अध्यक्ष हुने दाउमा छन् । अध्यक्ष ओलीको विश्वास पात्र भएकै कारण पोखरेल भावी अध्यक्ष बन्ने तरखर गरिरहेका बेला भण्डारीको चर्चाले उनको टाउको दुखाई सुरु भएको हुनुपर्छ । तर, वर्तमान अध्यक्ष ओली आफै पुनः अध्यक्षमा दोहोरिने मनस्थितिमा छन् । एकातिर अध्यक्ष ओली नै भावी अध्यक्ष बन्ने मनस्थितिमा हुनु, अर्कोतिर पूर्वराष्ट्रपति भण्डारीको एमाले पार्टी राजनीतिमा सक्रियता देखाउने हल्लाले महासचिव पोखरेलको टाउको दुखाइ सुरु भएको हो । तर, आमकार्यकर्ता र अधिकांश नेताहरुको लागि भण्डारीको आगमन स्वागतयोग्य सावित हुने आँकलन गरिएको छ ।
उता, महासचिव पोखरेलाई एमाले नेता- कार्यकर्ताले खासै रुचाउने गरेका छैनन् । तर, पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आएको खण्डमा एमालेभित्रका नेता, कार्यकर्ता मात्रै नभएर माओवादी केन्द्रका नेतादेखि एकीकृत समाजवादीका नेताहरुले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई स्वीकार गर्न सक्ने छनक देखिएको छ । उता, उत्तरी छिमेकी मुलुक चीनलेसमेत भण्डारीलाई नेपालको कम्युनिस्ट नेताको रुपमा स्वीकार गरेको अवस्था छ । त्यसले गर्दा पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने सम्भावना प्रवल देखिन्छ ।
हुन पनि अहिले नेपाली कम्युनिस्ट पार्टीहरुको छिन्नभिन्नको अवस्था हेर्दा पूर्वराष्ट्रपति भण्डारी जस्ता व्यक्तित्वको आवश्यकता रहेको वामपन्थी शक्तिहरुले महसुस गर्न थालेका छन् । यदि भण्डारी एमालेको सक्रिय राजनीतिमा आएको खण्डमा नेपालका वामशक्तिहरु एकठाउँमा उभिने चर्चा पनि त्यत्तिकै छ । भण्डारीको एमाले आगमनको चर्चाले एमालेभित्रका अधिकांश नेता र आमकार्यकर्तामा छुट्टै उत्साह जगाएको छ ।
तर, एमालेभित्र भण्डारीको चर्चा चुलिन थालेपछि महासचिव शंकर पोखरेल ओझेलमा परेका छन् । भण्डारीको चर्चाले अध्यक्ष ओली र शंकर पोखरेलको टाउको दुखाई भइरहँदा अर्का नेता ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मौन रहेका छन् । अर्कोतर्फ अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल र सञ्चार, सूचना तथा प्रविधिमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ भण्डारीकै पक्षमा देखिन्छन् । एमाले नेताहरुको आन्तरिक द्वन्द्व जे÷जस्तो भए तापनि भण्डारीको आगमनलाई बहुसंख्यक नेता÷कार्यकर्ताहरुले आवश्यक ठानेका छन् ।
