दुई प्रतिशत विलासिता कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी पुनः सडक आन्दोलनमा

विविध समाचार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।

बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले पाँच असारदेखि आन्दोलन स्थगित गरेका थिए ।

जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि दुई प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन् ।

सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलन स्थगित गरेका उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् ।यसअघि पनि उनीहरू बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको दुई प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

उनीहरूले असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *