काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ ।
परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएको हो ।आयोजनाका अनुसार मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको छ ।
आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको तनहुँ जलविद्युत् आयोजनाले उल्लेख गरेको छ ।
यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।