कुलिङ पिरियड बारे राज्य व्यवस्थामा कर्मचारीले विश्वासघात गरेको सांसदहरुको आरोप

राजनीति समाचार

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आकस्मिक बैठकमा कुलिङ पिरियडमा भएको हेराफेरीको विषयमा सांसदहरु आक्रोसित भएका छन् ।

समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडमा भएको हेराफेरीको विषय छानबिन गर्नुपर्ने र समितिले राष्ट्रिय सभामा सच्याउने प्रक्रिया अगाडी बढाउनुपर्ने बताए । छानबिन समिति राज्यव्यवस्था समितिबाट मात्र गठन गर्न नहुने बताउदै पाण्डेले समिति सभापतिसहित छानबिनको दायरामा आउनुपर्ने र सभापतिले को(को बसेर परिवर्तन गरेको हो जानकारी दिनुपर्ने बताए । उनले संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्ने बताए ।

त्यस्तै कांग्रेसकी सांसद सरिता प्रसाईले आफुहरुले मन्त्रालयका र समितिका सचिवलाई विश्वास गरेर गल्ति नगरेको भन्दै संसदलाई ठुलो विश्वासघात भएको प्रतिक्रिया दिएकी छन् । उनले संसदलाई भएको यो विश्वासघातलाई यतिकै छोड्न नहुने भन्दै छानबिन गरेर दोषीलाई कारवाही गर्नुपर्ने बताएकी छन् । त्यसैगरी समितिमा नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने सुझाव दए ।

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले यस घटनाले संसद जालझेल गर्ने थलो बनेको बताउदै समितिको हरेक बैठकमा कुलिङ पिरियड राख्नुपर्ने भनेर समितिका सभापति रामहरी खतिवडाले जोड दिएर भनिरहेकाले उनले जानीजानी यसमा हस्ताक्षर गरेको हो भन्ने आफुलाई विश्वास नरहेको प्रतिक्रिया दिए । समितिको बैठकमा अधिकांश सांसद फेरफेरी गरेका समिति र कानुन मन्त्रालयका कर्मचारीहरुप्रति आक्रोशित भएका थिए । सांसदहरुले यस प्रकरणमा संसद, सांसदहरुलाई विश्वासघात भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *