काठमाडौं । नेपाली कांग्रेसभित्र ‘छोरो पाउनु कहिले–कहिले, भोटो सिउनु अहिले’ भन्ने भनाइ चरितार्थ भएको छ । कांग्रेसको १५ औं महाधिवेशन २०८३ मा सम्पन्न हुने भनिए तापनि त्यसको कुनै तयारी भएको पाइँदैन । तर, नेताहरु बीच भावी सभापति को बन्ने भन्ने लडाइँ सुरु भएको छ । त्यसको लागि नेताहरु आ–आफ्ना गुट जम्मा गरेर कार्यालय खडा गरी आफूलाई भावी सभापतिको रुपमा उभ्याउँदै जिल्ला, क्षेत्र र वडातहसम्म दौडधूप गर्न थालेका छन् । सभापति देउवालाई भावी उत्ताराधिकारी कसलाई बनाउने भन्ने चिन्ता र चासो त्यत्तिकै बढेको छ ।
उता पार्टीको महाधिवेशन नजिकिँदै गर्दा भ्रातृ, मातृ तथा शुभेच्छुक संघसंस्थाको निर्वाचन पनि गर्न सकेको छैन । ट्रेड युनियन कांग्रेस, तरुण दल, नेविसंघ, मुस्लिम संघ, दलित, जनजाति, मधेसी, अल्पसंख्यक, पीछडिएको क्षेत्रलगायतका भातृ संगठनहरुको निर्वाचन गर्न सकेको छैन । त्यसैगरी महिला संघको पनि निर्वाचन गर्न सकेको छैन । महिला संघमा पनि भावी नेतृत्वको लागि वडातहदेखि गुटगत लडार्इँ सुरु भएको छ । केही महिना अगाडि सम्पन्न भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचित कार्यसमितिविरुद्ध एकलौटी हस्तक्षेप भएको आरोप लगाउँदै प्रतिस्पर्धी उम्मेदवारले अर्को समानन्तर कार्यसमिति गठन गरेका थिए । त्यसैगरी तरुण दलमा पनि निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्न बनेको तदर्थ समितिले निर्वाचन गर्न सकेको छैन ।
निर्वाचन गरेर नयाँ कार्यसमिति चयन गर्नको लागि पार्टीले तदर्थ कमिटी बनाएको थियो । त्यसले पनि नयाँ कार्यसमितिको लागि निर्वाचन नगरी अवधि समाप्त भएपछि फेरि छ महिनाको लागि मिति थप गरेको छ । लोकतन्त्रको मसिहा पार्टी कांग्रेसभित्र अलोकतान्त्रिक ढंगले नेतृत्वले हस्तक्षेप गरी गुटगत आसेपासेलाई अवसर दिने प्रवृत्तिले पार्टी संगठन ध्वस्त हुँदै गएको आरोप कार्यकर्ताले लगाउन थालेका छन् । एकातिर भातृ, मातृ तथा शुभेच्छुक संस्थाहरु लथालिङ्ग भइरहेका छन् भने अर्कोतिर पार्टी नेतृत्व गुमनाम भएर बसिरहेको छ । उता, कांग्रेसकै इतरपक्षका नेताहरु भने आफूलाई भावी सभापति दावी गर्दै जिल्ला दौडमा व्यस्त देखिन्छन् । नेताको आडमा दरुण दलका नेताहरु उठ्तीपुठ्ती धन्दामा व्यस्त देखिन्छन् ।
केन्द्रीय नेताहरुले बेमौसमको ‘बाजा’ बजाउन थालेपछि स्थानीय, क्षेत्रीय र जिल्ला तहका नेता÷कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि छाएको छ । पार्टीका केन्द्रीय नेताहरुले जिल्ला र स्थानीय तहमा पार्टी संगठनमा गरेको संघर्षको मूल्याङ्कन नगरेपछि स्थानीय नेता पनि गाउँ छाडेर नेताको घरदैलो धाउन थालेका छन् । त्यसले गर्दा स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश स्तरीय सांगठानिक संरचनाहरु लथालिङ्ग अवस्थामा गुज्रिइरहेका छन् ।
इमानदार, त्यागी र सिद्धान्तनिष्ठ ढंगले पार्टी संगठनमा जुटेका कार्यकर्तालाई पाखा लगाएर पैसा, पावर र नातावाद, कृपावादमा हावि भएका व्यक्तिलाई अवसर दिने प्रवृत्तिले कांग्रेसको संगठन छिन्नभिन्न भएको छ । संगठन तलदेखि माथिसम्म छिन्नभिन्न हुँदै गएको छ भने नेतैपिच्छेको गुटले पार्टी झन् ध्वस्त भएको छ । नेताहरुको यस्तो प्रवृत्तिले गर्दा आगामी २०८४ को निर्वाचन कांग्रेसको लागि फलामको चिउरा सावित हुने आमसर्वसाधारणको आँकलन छ । तर, कांग्रेसका इतरपक्ष नेताहरु भने कांग्रेसले गठनबन्धन गरेर सरकारमा गएपछि पार्टी संगठन कमजोर भएको भन्दै आगामी निर्वाचन एक्लाएक्लै लड्नुपर्ने धारणा राख्न थालेका छन् ।