काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य शुरु गरिएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो । निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ । ‘वाइनाकुलर, क्यामेरा, दूरबिन, जिपिएसलगायतको मद्दतले गणनाको कार्य अघि बढ्ने भएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घका चरा विज्ञका अनुसार हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रूपमा पुगेर गणनाको कार्य गर्ने र हिँडेर पुग्न नसकिने क्षेत्रमा हात्तीमा चढेर गणनाको कार्य गर्ने उल्लेख गरेको छ । दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरूप संरक्षणको योजना बनाइने निकुञ्जले जनाएको छ ।
निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा सुनौलो तोप चरा गणनाको कार्य गरिनेछ ।